वीरगंज (पर्सा), २ असोज । करिब ११ महिनादेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी धादिङकी एक नेपाली युवती भारतको बिहारस्थित मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला परेपछि सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई भारतीय प्रहरीले गत साता मुजफ्फरपुर सहरमा अलपत्र अवस्थामा फेला पारेको थियो । प्रहरीले उनलाई उद्धार गरी मुजफ्फरपुरस्थित शान्ति कुटीर आश्रममा राखेको थियो ।
भारतमा अलपत्र अवस्थामा रहेकी तामाङको अवस्थाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा मानवसेवा आश्रम वीरगंजको टोलीले गत शनिबार उनलाई भारतबाट उद्धार गरी वीरगन्ज ल्याएको थियो । उद्धारपछि परिवारसँग सम्पर्क स्थापित भएको र आवश्यक समन्वयपछि शुक्रबार तामाङलाई उनका बुवा गुणासिंह तामाङको जिम्मा लगाएर घर पठाइएको मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको रोहबरमा तामाङलाई बुवा गुणासिंहको जिम्मा लगाइएको हो । लामो समयदेखि सम्पर्कविहीन रहेकी छोरी भारतमा फेला परेपछि परिवारसँग पुनर्मिलन गराउन मानवसेवा आश्रम र प्रहरीको समन्वयमा उद्धार तथा हस्तान्तरण प्रक्रिया पूरा गरिएको हो ।







प्रतिक्रिया दिनुहोस् !