स्याफ्रुबेसी (रसुवा), ३१ भदौ । भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजीमा जुटेको उद्धार टोलीले २२औँ दिन जलविद्युत् आयोजनाका दुई वटा सुरुङभित्रबाट शव फेला पारेको छ । नेपाली सेना तथा सम्बन्धित जलविद्युत् आयोजनाबाट खटिएको संयुक्त टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गर्ने क्रममा बुधबार माथिल्लो त्रिशूली–१ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङबाट शव तथा मानव अंग फेला पारेको हो ।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलभित्र बुधबार पाँच जनाको शव फेला परेको छ । सुरुङभित्र प्रवेश गरी निरन्तर खोजी गर्ने क्रममा शव फेला परेपछि उद्धार टोलीले ती शव बाहिर निकालेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । फेला परेका शवको पहिचान खुलाउने प्रयास भइरहेको छ । शव कसको हो भन्ने यकिन विवरण आउन बाँकी रहेकाले परिवारजनमा थप चिन्ता बढेको छ । सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।
यस्तै, बुधबार नै चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रबाट पनि तीन जनाको शव र एउटा मानव अंग फेला परेको छ । बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धार गर्ने क्रममा उक्त सामग्री फेला परेको हो । सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार सुरुङभित्र लगातार पानी आइरहेका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण बनेको थियो । गोताखोर टोलीले पानीको सतह छिचोल्दै सुरुङभित्र करिब १३० मिटर प्रवेश गरेर शव बाहिर निकालेको थियो ।
बस्नेतका अनुसार सुरुङभित्रबाट तीन वटा शव र एउटा मानव अंग निकालिएको हो । उद्धार टोलीले थप व्यक्तिको अवस्था पत्ता लगाउन खोजीलाई निरन्तरता दिइरहेको छ । बाढीका कारण सुरुङसम्म पुग्ने बाटोसमेत भग्नावशेष र चट्टानले पुरिएको थियो । संयुक्त खोज तथा उद्धार टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा एक्स्काभेटर र लोडर पुर्याएर चट्टान तथा भग्नावशेष हटाउँदै करिब १ हजार ५० मिटर बाटो निर्माण गरेको थियो । त्यसपछि सुरुङसम्म पुगेर उद्धार टोलीले लगातार अवरोध हटाउने काम अघि बढाएको थियो ।
भग्नावशेष हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको पत्ता लागेको थियो । सोही स्थानबाट उद्धार टोली सुरुङभित्र प्रवेश गरी करिब १३० मिटरसम्म खोजीमा पुगेको थियो । तर सुरुङभित्र पानीको सतह माथिल्लो भागसम्म पुगेपछि भारी उपकरण प्रयोग गर्न नसकिने अवस्था बनेको थियो । जोखिमका बाबजुद सुरुङभित्र बेपत्ता व्यक्तिको खोजीलाई निरन्तरता दिइएको छ । बाढीको २२औँ दिनसम्म पनि जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ताको अवस्था यकिन हुन नसक्नुले उद्धार अभियान अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।







प्रतिक्रिया दिनुहोस् !