वीरगंज (पर्सा), ३१ भदौ । वीरगंज महानगरपालिका–२१ मा रहेको सरकारी स्वास्थ्य संस्था र विद्यालयको सेवा तथा शैक्षिक वातावरण सुधारमा सहयोग पुर्याउने उद्देश्यले मनोज ग्यास उद्योग प्रालिले विभिन्न सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । उद्योगले वडा नम्बर २१ स्थित स्वास्थ्य चौकीलाई २ टन क्षमताको एसी उपलब्ध गराएको छ भने सोही वडाको सुखचैनामा रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयलाई १ लाख ४४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बुधबार वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले स्वास्थ्य चौकीका लागि एसी तथा विद्यालयका लागि सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा सञ्चालक दासले सुखचैनास्थित उक्त विद्यालयलाई उद्योगले पछिल्ला चार वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । उनका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्र समुदायको प्रत्यक्ष सरोकारसँग जोडिएकाले उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत यी क्षेत्रमा सहयोगलाई प्राथमिकता दिँदै आएको छ ।
दासले स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राखेर आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योगको व्यावसायिक गतिविधिसँगै समुदायप्रतिको जिम्मेवारी पूरा गर्नु पनि आफ्नो दायित्व भएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशप्रसाद कुर्मी, प्रधानाध्यापक नन्दकिशोर राम, मनोज ग्यास उद्योगका तर्फबाट अरुण दास र चन्दन दास तथा पत्रकार युवराज खड्का, वीरेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।
स्थानीय स्वास्थ्य संस्था र विद्यालयलाई गरिएको सहयोगले स्वास्थ्य सेवा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !