वीरगंज (पर्सा), ३१ भदौ । मधेश प्रदेशका विद्यालयमा देखिएका शिक्षक अभावदेखि भौतिक पूर्वाधार र आर्थिक पारदर्शितासम्मका समस्याबारे आम विद्यार्थी मोर्चाले शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ ।
मोर्चाका सचिव प्रिन्स साहले प्रेस विज्ञप्ति जारी गर्दै मधेशका विद्यालयमा विद्यार्थीको संख्याअनुसार शिक्षक दरबन्दी नरहेको तथा तहगत र विषयगत शिक्षकको समेत व्यापक अभाव रहेको उल्लेख गरेका छन् । विद्यालयमा देखिएको शिक्षक अभाव अन्त्य गर्न शिक्षा मन्त्रालयले के पहल गरिरहेको छ भन्ने विषयमा स्पष्ट जानकारी दिन मोर्चाले मन्त्रीसँग माग गरेको हो ।
मोर्चाले शिक्षक अभावसँगै मधेशका धेरै विद्यालयमा आधारभूत भौतिक पूर्वाधारसमेत कमजोर रहेको जनाएको छ । आवश्यक भवन, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी तथा पर्याप्त शैक्षिक सामग्रीको अभाव रहेको भन्दै उसले विद्यालयको यस्तो अवस्थाबीच विद्यार्थीले गुणस्तरीय शिक्षा कसरी प्राप्त गर्ने भन्ने प्रश्न उठाएको छ ।
कतिपय विद्यालयमा सामान्य ब्ल्याकबोर्ड तथा ह्वाइटबोर्डसमेत पर्याप्त नरहेको उल्लेख गर्दै मोर्चाले विद्यालयको आधारभूत आवश्यकता पूरा गर्न मन्त्रालयले तत्काल चाल्ने कदमबारे स्पष्ट पार्न आग्रह गरेको छ ।
यसैगरी, विद्यालयमा आर्थिक अनियमितता हुने गरेको र आय–व्यय पारदर्शी नभएको आरोपसमेत मोर्चाले लगाएको छ । विद्यालयको आन्तरिक आम्दानीलाई पारदर्शी बनाउन, नियमित सरकारी लेखापरीक्षण सुनिश्चित गर्न तथा विद्यार्थीको खाजाका लागि उपलब्ध हुने रकममा हुने भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गर्न मोर्चाले माग गरेको छ । दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने उसको माग छ ।
संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य गरे पनि विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाउने गरेको भन्दै मोर्चाले त्यसप्रति समेत शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्ने गरी शुल्क असुल्ने प्रवृत्ति रोक्न मन्त्रालयले के कदम चाल्दैछ भन्ने प्रश्न मोर्चाले गरेको छ ।
मधेशमा गुणस्तरीय शिक्षाको संकट गहिरिँदै गएको दाबी गर्दै आम विद्यार्थी मोर्चाले विशेषगरी गरिब तथा विपन्न समुदायका बालबालिकाले समान रूपमा गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न शिक्षा मन्त्रालयसँग स्पष्ट र कार्यान्वयनयोग्य योजना माग गरेको छ । मोर्चाले शिक्षा मन्त्रीसँग शिक्षक दरबन्दी र विषयगत शिक्षक अभाव, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्री, आर्थिक पारदर्शिता तथा निःशुल्क शिक्षाको कार्यान्वयनसँग सम्बन्धित पाँचवटै प्रश्नको स्पष्ट जवाफ माग गरेको छ ।
मोर्चाले विज्ञप्तिमार्फत ‘हामीलाई आश्वासन होइन, विद्यालयको कक्षाकोठामा परिवर्तन चाहिएको छ’ भन्दै मन्त्रालयबाट तत्काल ठोस पहलको अपेक्षा गरेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !