रक्सौल (बिहार), ३१ भदौ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिरीक्षक निशित कुमार उज्जवलले बिहारको रक्सौलस्थित ४७औँ वाहिनी एसएसबीअन्तर्गतका विभिन्न सीमा चौकीको दुईदिने निरीक्षण भ्रमण गरेका छन् । भदौ ३० र ३१ गते भएको भ्रमणका क्रममा उनले सीमा सुरक्षा, परिचालन व्यवस्था तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गर्दै तैनाथ सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका छन् ।
भ्रमणको पहिलो दिन असोज ३० गते महानिरीक्षक उज्जवल ४७औँ वाहिनीअन्तर्गतको बाह्य सीमा चौकी हरपुर पुगेका थिए । त्यहाँ उनले सीमा क्षेत्रमा कायम सुरक्षा व्यवस्थाको निरीक्षण गर्नुका साथै परिचालनसम्बन्धी अवस्थाबारे जानकारी लिएका थिए । उनले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग उनीहरूको व्यक्तिगत तथा ड्युटीका क्रममा देखिएका समस्या र कठिनाइबारे समेत जानकारी लिएका थिए ।
त्यसपछि उनी धुपवाटोला सीमा चौकी पुगेका थिए । त्यहाँ आयोजित सैनिक सम्मेलनमा सहभागी हुँदै महानिरीक्षक उज्जवलले सीमा सुरक्षामा खटिएका बलकर्मीले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । उनले अनुशासन, समर्पण र जिम्मेवारीबोधका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन तथा प्रेरणा दिएका थिए ।
सैनिक सम्मेलनपछि सीमा चौकीमा सामूहिक भोज (बडा खाना) आयोजना गरिएको थियो । महानिरीक्षक उज्जवलसमेत सहभागी भएको उक्त कार्यक्रममा सुरक्षाकर्मीसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो । भ्रमणको दोस्रो दिन ३१ गते महानिरीक्षक उज्जवल सेनुवरिया सीमा चौकी पुगेका थिए । उनले त्यहाँ निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी निर्माण कार्यको प्रगतिको जानकारी लिए । भवन निर्माणको अवस्थाबारे जानकारी लिएपछि उनले सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिएका थिए ।
निरीक्षणका क्रममा उनले सेनुवरिया चौकीमा तैनाथ सुरक्षाकर्मीसँग भेटघाट गरी उनीहरूले गरिरहेको कामको प्रशंसा गरेका थिए । साथै सीमा सुरक्षामा खटिएका जवानको मनोबल उच्च राख्दै जिम्मेवारीप्रति थप समर्पित भएर काम गर्न हौसला प्रदान गरेका थिए । एसएसबी महानिरीक्षकको भ्रमणका क्रममा ४७औँ वाहिनी एसएसबीका द्वितीय कमान अधिकारी तथा कार्यवाहक कमान्डेन्ट सञ्जय रावतसहित वाहिनीका अन्य अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
दुईदिने भ्रमणका क्रममा महानिरीक्षक उज्जवलले सीमा चौकीको सुरक्षा तथा परिचालन व्यवस्थाको प्रत्यक्ष निरीक्षण गर्नुका साथै सुरक्षाकर्मीका समस्या सुन्ने, उनीहरूको मनोबल बढाउने र सीमा सुरक्षा संरचनाको अवस्थाबारे स्थलगत जानकारी लिने कार्यलाई प्राथमिकता दिएका थिए ।







प्रतिक्रिया दिनुहोस् !