वीरगंज (पर्सा), ३१ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित सागर आयल पेट्रोल पम्पनजिकै एलपी ग्यास बोकेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । वीरगंज–पथलैया सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा वीरगञ्जका एक जना र करैयामाई गाउँपालिकाका अर्का एक जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार मंगलबार राति करिब ८ः३० बजे ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ऐरोटेक ग्यास कम्पनीबाट निस्किएको ट्रक सर्भिस लेन हुँदै एक्सप्रेसवेतर्फ प्रवेश गर्ने क्रममा जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको मोटरसाइकलसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज लगिए पनि चिकित्सकले राति ९ः१० बजे मृत घोषणा गरेका थिए । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी रहेका छन् ।
मोटरसाइकल कसले चलाइरहेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक उमेश निरौला र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा प्राविधिकसहितको टोली घटनास्थलमा पुगेको थियो । टोलीले घटनास्थलको निरीक्षण गरी दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ना.३ ख ५६१० नम्बरको ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका–७ का ५८ वर्षीय सुनिलराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा छन् भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल, वीरगंजमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत कारण तथा घटनासम्बन्धी थप तथ्यबारे अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस् !