वीरगंज (पर्सा), ३१ भदौ । पर्साको वीरगंज महानगरपालिका–१७, अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ । लागूऔषध ओसारपसारका लागि अपनाइएको नयाँ शैलीको पर्दाफास गर्दै सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले मंगलबार शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा ट्याङ्कीभित्र लुकाइएको उक्त पदार्थ फेला पारेको जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको ट्याङ्कीभित्र विशेष संरचना अर्थात् फल्स बटम बनाएर २१ वटा पोकामा प्याक गरिएको अवस्थामा अन्दाजी ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद भएको हो ।
तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसँगै एक थान मोबाइलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद लागूऔषध, मोटरसाइकल तथा अन्य सामग्रीसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद सामग्री आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले उक्त जानकारी दिएका हुन् । बरामद पदार्थको वास्तविक प्रकृति तथा घटनामा संलग्न व्यक्तिको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !