बिहुल (सप्तरी), ३१ भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका–४, बेल्हीमा घरमै सुतिरहेका २४ वर्षीय अभिनन्द यादवलाई पेस्तोल देखाउँदै आएको समूहले जबर्जस्ती लगेको आरोप लागेपछि आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन् । युवकलाई घरबाटै लगिएको भनिएको घटनामा प्रहरीले तत्काल खोजी तथा आवश्यक पहल नगरेको भन्दै उनीहरूले मंगलबार बेल्हीस्थित प्रहरी चौकीमा पुगेर आक्रोश व्यक्त गरेका हुन् ।
परिवारका अनुसार सोमबार राति करिब १२ बजेको समयमा ६–७ जनाको समूह अभिनन्दको घरमा पुगेको थियो । उक्त समूहले परिवारका सदस्यलाई पेस्तोल देखाउँदै सुतिरहेका अभिनन्दलाई नियन्त्रणमा लिएर आफ्नो साथमा लगेको उनका काका अमोद यादवले बताएका छन् । अभिनन्दलाई घरबाटै लगिएको जानकारी प्रहरीलाई गराए पनि तत्काल खोजी तथा आवश्यक कदम नचालिएको आफन्तको गुनासो छ ।
घटनापछि चिन्तित बनेका परिवारजन तथा स्थानीयवासी मंगलबार प्रहरी चौकी पुगेका थिए । उनीहरूले अभिनन्दको अवस्था तत्काल सार्वजनिक गर्न र उनको खोजी कार्यलाई तीव्रता दिन प्रहरीसमक्ष माग गरेका छन् । गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई लगिएको भनिएको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको वडाध्यक्ष लक्ष्मीनारायण झाले बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी अभिनन्दको अवस्था सार्वजनिक गर्न तथा घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरीसँग आग्रह गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले अभिनन्द यादवको खोजी भइरहेको बताएका छन् । उनका अनुसार प्रारम्भिक रूपमा प्राप्त सूचनामा अभिनन्द भारतमा गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर गएको भनिएको छ । यद्यपि, भारतीय पक्षबाट अभिनन्दलाई नियन्त्रणमा लिइएको भन्ने सूचना हालसम्म पूर्ण रूपमा पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । घटनाको वास्तविक अवस्था पत्ता लगाउन नेपाली प्रहरीले सम्बन्धित पक्षसँग समन्वय गरिरहेको प्रवक्ता घिमिरेले बताए ।
घरमा पेस्तोलसहितको समूह पुगेको र अभिनन्दलाई जबर्जस्ती लगिएको भन्ने परिवारको दाबीबारे भने प्रहरीलाई औपचारिक जानकारी प्राप्त नभएको प्रवक्ता घिमिरेले स्पष्ट पारेका छन् । युवकलाई कसले, कुन उद्देश्यले र कुन परिस्थितिमा घरबाट लगेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। अभिनन्दको अवस्थाबारे परिवार तथा स्थानीयवासीमा बढ्दो चिन्ताबीच प्रहरीले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने दबाब बढेको छ ।







प्रतिक्रिया दिनुहोस् !