वीरगंज (पर्सा), ३० भदौ । क्यासिनो प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफूबाट भएका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग क्षमायाचना गरेका छन् । सोमबार साँझ धरौटीमा रिहा भएका अध्यक्ष यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै विगतमा आफूबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिकेर आगामी दिनमा थप जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका हुन् ।
अध्यक्ष यादवले आफ्ना कारण कसैको मन दुखेको भए त्यसप्रति हृदयदेखि नै क्षमा माग्दै जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित तथा जवाफदेही रहने बताएका छन् । उनले सार्वजनिक गरेको सन्देशमा आफूबाट भएका कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए क्षमा चाहेको उल्लेख गरेका छन् ।
यादवले विगतका गल्तीबाट सिक्दै आफ्ना कमजोरी सुधार्ने र आगामी दिनमा अझ जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले देश, समाज तथा सखुवाप्रसौनी गाउँपालिकाका जनताको हितलाई केन्द्रमा राखेर आगामी दिनमा निरन्तर समर्पित रहने बताएका छन् । क्यासिनो प्रकरणमा पक्राउ परेका अध्यक्ष यादव सोमबार साँझ धरौटी रकम बुझाएर रिहा भएका थिए ।
त्यसको भोलिपल्टै उनले सामाजिक सञ्जालमार्फत आत्मालोचनासहित जनतासँग क्षमा माग्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । अध्यक्ष यादवको यो अभिव्यक्तिलाई क्यासिनो प्रकरणपछि जनतामाझ आफ्नो धारणा स्पष्ट पार्ने तथा विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धताका रूपमा हेरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !