वीरगंज (पर्सा), ३० भदौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफूविरुद्धको आरोपमाथि न्यायालयबाट सत्यको पुष्टि भएको प्रतिक्रिया दिएका छन् । अदालतको फैसलासँगै उनी पुनः मेयर पदमा स्वतः बहाल भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित ७ जनाविरुद्ध गत जेठ २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सोमबार विशेष अदालतले सिंहलाई सफाइ दिएपछि उनको निलम्बन स्वतः अन्त्य भएको हो ।
अदालतको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर सिंहले आफूले लामो समयदेखि विश्वास गर्दै आएको न्यायप्रतिको आस्था अझ बलियो बनेको बताएका छन् । उनले हिन्दीको भनाइ ‘देर है पर अन्धेर नहीं’ उल्लेख गर्दै अन्ततः न्याय हुने बताएका छन् । आफूविरुद्ध झुटो मुद्दा लगाएर निलम्बनमा पारिएको कठिन परिस्थितिलाई आफू र आफ्नो परिवारले धैर्य, आत्मविश्वास तथा सत्यप्रतिको विश्वासका साथ सामना गरेको उनको भनाइ छ ।
विशेष अदालतको फैसलाले सत्य कहिल्यै पराजित हुँदैन भन्ने आफ्नो विश्वासलाई थप बलियो बनाएको सिंहले बताएका छन् । निलम्बनको कठिन समयमा आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने, हौसला बढाउने, शुभेच्छा व्यक्त गर्ने तथा आफ्नो न्यायका लागि प्रार्थना गर्ने आफन्त, साथीभाइ, शुभचिन्तक र न्यायप्रेमी सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।
आफूमाथि आएको संकटको समयमा प्राप्त सहयोग र विश्वासलाई आफूले कहिल्यै नबिर्सने उल्लेख गर्दै सिंहले त्यसलाई कठिन परिस्थितिमा अघि बढ्ने ऊर्जाका रूपमा लिएको बताएका छन् । उनले आफ्नो प्रतिक्रियामा ‘सत्यको बाटो कठिन हुन सक्छ, तर अन्ततः सत्यकै जित हुन्छ । ढिलो भयो, तर न्याय भयो’ भन्दै अदालतको फैसलालाई न्यायको विजयका रूपमा व्याख्या गरेका छन् ।
विशेष अदालतबाट सफाइ पाएसँगै अब मेयर सिंह महानगरपालिकाको नियमित काममा फर्किने बाटो खुलेको छ । यससँगै केही समयदेखि नेतृत्वविहीनताको अवस्थामा रहेको महानगरपालिकाको राजनीतिक तथा प्रशासनिक गतिविधि पुनः सिंहकै नेतृत्वमा अघि बढ्ने भएको छ ।







प्रतिक्रिया दिनुहोस् !