जनकपुरधाम (धनुषा), ३० भदौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बजारमा बढ्दो महँगीविरुद्ध अग्रगामी युवा मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, आपूर्ति व्यवस्थाका समस्या समाधान गर्नुपर्ने तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
माग सम्बोधन नभए आगामी असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने मोर्चाले जनाएको छ । मोर्चाले बढ्दो मूल्यवृद्धि, कालोबजारी, सरकारी सेवा प्रवाहमा ढिलासुस्ती तथा भ्रष्टाचारप्रति सरकारको ध्यानाकर्षण गराएको छ । नागरिकका आधारभूत समस्याप्रति संघ, प्रदेश र स्थानीय सरकार उदासीन बनेको आरोप लगाउँदै माग पूरा नभए देशव्यापी रूपमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बाढीपीडितको उद्धार र पुनःस्थापनाको माग
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भए पनि तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको मोर्चाको भनाइ छ । बाढी प्रभावित नागरिकको तत्काल उद्धार, उचित राहत तथा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न मोर्चाले माग गरेको छ । त्यस्तै, सरकारी निकायमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शिता र सुशासन कायम गर्न पनि उसले आग्रह गरेको छ ।
बजार अनुगमन र रोजगारीको माग
बजारमा अत्यावश्यक वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि बढिरहेको भन्दै मोर्चाले तत्काल प्रभावकारी बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्न तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ । युवाका लागि स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने ठोस नीति ल्याउनुपर्ने, वैदेशिक रोजगारीका नाममा हुने ठगी, बिचौलियाको गतिविधि तथा श्रम शोषण नियन्त्रण गर्नुपर्ने मागसमेत मोर्चाले अघि सारेको छ ।
विज्ञप्तिमा समाजवादी युवा संघ नेपालका अध्यक्ष मनिष यादव, समाजवादी युवा संगठनका संयोजक जनकबहादुर कार्की, विद्यार्थी जनमत संघका संयोजक पोषणकुमार यादव, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका प्रतिनिधि विप्लव खम्बु, आइटी आर्मीका केन्द्रीय प्रतिनिधि राजेश शर्मा, आम विद्यार्थी मोर्चाका केन्द्रीय सचिव प्रिन्स साह, समाजवादी विद्यार्थी युनियन नेपालका उपमहासचिव मुकेशकुमार यादव र समाजवादी युवा संगठनका केन्द्रीय प्रतिनिधि रवि ध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।







प्रतिक्रिया दिनुहोस् !