औराही (सिरहा), २७ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सिरहा भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ । स्थानीय पार्टी कमिटीलाई जानकारी र समन्वय नगरी मन्त्रीको विद्यालय भ्रमण तथा भेटघाट कार्यक्रम आयोजना गरिएको भन्दै स्थानीय नेताहरूले विरोध गरेपछि मन्त्री पोखरेलले कार्यक्रममै सम्बोधन गर्न पाएनन् ।
शनिबार सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा मन्त्री पोखरेल सम्बोधन गर्न अघि बढेपछि स्थानीय नेताहरूले विरोध जनाएका थिए । विरोध चर्किएपछि उनलाई बोल्नबाट रोकिएको र अन्ततः मन्त्री कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ । घटनाले रास्वपाभित्र स्थानीय संगठन, निर्वाचित प्रतिनिधि र केन्द्रबीचको समन्वय कति कमजोर बन्दै गएको छ भन्ने प्रश्नसमेत उठाएको छ ।
स्थानीय नेताहरूका अनुसार सिरहा क्षेत्र नम्बर–२ अन्तर्गतका विद्यालयमा मन्त्री पोखरेलको भ्रमण तथा भेटघाट कार्यक्रम स्थानीय पार्टी कमिटीसँग कुनै औपचारिक समन्वय नगरी आयोजना गरिएको थियो । रास्वपाका सहमहामन्त्रीसमेत रहेका सिरहा निवासी प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले स्थानीय संगठनलाई बेवास्ता गर्दै आफूखुसी कार्यक्रम सञ्चालन गरेको आरोप उनीहरूले लगाएका छन् ।
स्थानीय कमिटीले प्रतिनिधिसभा सदस्यद्वयले पार्टीको सांगठनिक संरचनासँग समन्वय नगरी कार्यक्रम सञ्चालन गर्ने गरेको आरोपसमेत लगाएको छ । मन्त्रीजस्तो उच्च राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिको भ्रमणसमेत स्थानीय संगठनलाई जानकारी नदिई सञ्चालन गरिएपछि असन्तुष्ट नेताहरूले कार्यक्रममै विरोध जनाउनुपरेको उनीहरूको भनाइ छ ।
मन्त्री पोखरेललाई सम्बोधन गर्न नदिइएको घटनाले रास्वपाभित्रको संगठनात्मक अनुशासन, अधिकार क्षेत्र र समन्वयको विषयलाई थप पेचिलो बनाएको छ । वैकल्पिक राजनीतिको नारा दिएर उदाएको रास्वपाभित्रै निर्वाचित सांसद र स्थानीय कमिटीबीच कार्यक्रम सञ्चालनको विषयमा सार्वजनिक रूपमा विवाद देखिनु पार्टीका लागि गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
यता मन्त्री पोखरेलले भने मधेश प्रदेशको शैक्षिक अवस्था, पूर्वाधार र शिक्षाको गुणस्तर सुधारका विषयलाई प्राथमिकतामा राखेर सिरहा भ्रमण गरेका थिए । बिहीबार लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गर्दै उनले मधेश प्रदेशमा कृषि तथा इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको बताएका थिए ।
उनका अनुसार जेएस मुरारका बहुमुखी क्याम्पसमा कृषि तथा इन्जिनियरिङ संकाय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार पर्याप्त रहेको छ । क्याम्पसको विद्यमान संरचनालाई उपयोग गर्दै नयाँ संकाय सञ्चालन गर्न सकिने भन्दै राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कृषि र इन्जिनियरिङ शिक्षा सञ्चालनका लागि तत्काल पहल गर्ने उनले बताएका थिए ।
मन्त्री पोखरेलले मधेश प्रदेशको शिक्षाको अवस्था कमजोर रहेको स्वीकार गर्दै शिक्षक, अभिभावक र विद्यार्थीसँग अन्तरसंवाद गरेर समस्या पहिचान तथा समाधान गर्ने उद्देश्यले आफू मधेश भ्रमणमा आएको बताएका थिए । शिक्षा क्षेत्रका समस्यालाई सम्बोधन गर्न शिक्षा ऐन ल्याउने तयारीसमेत भइरहेको उनको भनाइ थियो । मन्त्रीले लहान नगरपालिका–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयको समेत अनुगमन गरेका थिए ।
२००४ सालमा स्थापना भएको उक्त विद्यालयको पुरानो साख फर्काउन समयअनुकूल विज्ञान तथा प्रविधियुक्त सुविधा सम्पन्न बनाउनुपर्ने उनले बताएका थिए । सिरहा–१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा क्षेत्रका पुराना विद्यालयलाई स्तरीकरण गर्ने काम अघि बढाइने मन्त्री पोखरेलले बताएका छन् । भगवानपुर गाउँपालिकास्थित हनुमान शारदा माध्यमिक विद्यालय, इनर्वा र लहान–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयलाई प्राथमिकतामा राखेर शैक्षिक सुधार अघि बढाउने योजना रहेको उनले जानकारी दिए ।
सांसद गुप्ताले आफ्नो निर्वाचन क्षेत्रको दक्षिणी भेगमा रहेका पुराना विद्यालयलाई स्तरीकरण गर्ने चुनावी प्रतिबद्धता पूरा गर्न आफू सक्रिय रहेको बताए। उनका अनुसार यी दुई विद्यालयपछि सखुवानन्कारकटि र लक्ष्मीपुर पतारी क्षेत्रमा समेत शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
मन्त्रीको भ्रमणको घोषित उद्देश्य शिक्षामा सुधार, पूर्वाधार विस्तार र नयाँ शैक्षिक कार्यक्रमको सम्भाव्यता अध्ययन भए पनि औरहीको घटनाले भने रास्वपाको आन्तरिक संगठनात्मक व्यवस्थापनलाई नै बहसको केन्द्रमा ल्याइदिएको छ । विद्यालय सुधारको सन्देश बोकेर सिरहा पुगेका मन्त्री पोखरेलको कार्यक्रममै पार्टीभित्रको असन्तुष्टि विस्फोट हुनु रास्वपाका लागि आफैंभित्रको संगठन सुदृढीकरणतर्फ गम्भीर रूपमा फर्किनुपर्ने संकेत बनेको छ ।







प्रतिक्रिया दिनुहोस् !