वीरगंज (पर्सा), २३ भदौ । वीरगंजमा लामो समयदेखि विवादित घरजग्गामा किचलो सिर्जना गरेर जग्गाधनीलाई दबाब दिने र विवाद समाधानका नाममा ठूलो रकम बार्गेनिङ गर्ने गरेको आरोप लागेका सर्लाहीका संजय कुमार ठाकुर अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन् । पर्सा प्रहरीले ठाकुरलाई मंगलबार दिउँसो काठमाडौंको शान्तिनगर गेटबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा उनीविरुद्ध विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा २०८२ असोज ४ गते मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएको लामो समयसम्म फरार रहेका ठाकुरलाई पर्सा प्रहरीले खोजी तीव्र बनाएपछि काठमाडौं पुगेर पक्राउ गरेको जनाएको छ । उनलाई बुधबार पर्सा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ । ठाकुरको पक्राउलाई एउटा व्यक्तिमाथिको सामान्य कानुनी कारबाहीका रूपमा मात्र नभई वीरगंजका विवादित घरजग्गामा कागजात, वारेसनामा, दबाब, धम्की र आर्थिक बार्गेनिङको आरोपसँग जोडिएको सम्भावित सञ्जालसम्म पुग्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
२१ घरधुरीको जग्गामा विवाद, करोडौँको बार्गेनिङ
ठाकुरमाथि वीरगंज महानगरपालिका–१० आदर्शनगरमा रहेको स्काईलाइन महलसहित करिब २१ घरधुरीको जग्गामा विवाद उत्पन्न गराएर जग्गाधनीसँग करोडौँ रुपैयाँ मागेको आरोप छ । उक्त विषयमा आदर्शनगर क्षेत्रका २१ जना जग्गाधनीले समेत ठाकुरलगायतका व्यक्तिविरुद्ध आपराधिक लाभ लिने उद्देश्यले ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए ।
जग्गाधनीहरूले लामो समयदेखि आफूहरूको सम्पत्तिमा अनावश्यक विवाद खडा गरी मानसिक दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाउँदै आएका छन् । ठाकुरले विवाद समाधान गरिदिने नाममा ठूलो रकम माग्ने गरेको आरोपसमेत उनीहरूमध्ये केहीको छ । स्काईलाइन महलका एक सञ्चालकले समेत विवाद अन्त्य गर्ने भन्दै ठाकुरले आफूहरूसँग १ करोड रुपैयाँ माग गरेको बताएका छन् ।
मुद्दा दर्ता भएको लामो समयपछि पक्राउ
ठाकुरविरुद्ध तत्कालीन प्रहरी उपरीक्षक गौतम मिश्रको कार्यकालमा मुद्दा दर्ता भएको थियो । तर मुद्दा दर्तापछि पनि उनी लामो समयसम्म पक्राउ परेका थिएनन् । यसबीच तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठकको कार्यकालमा ठाकुरले संरक्षण पाएको आरोपसमेत स्थानीयबाट लाग्दै आएको थियो । आदर्शनगरका स्थानीयवासीले ठाकुरले आफूहरूलाई धम्क्याउने गतिविधि गर्दा तत्कालीन प्रहरी नेतृत्व र पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी भोला दाहालबाट संरक्षण पाएको आरोप लगाएका थिए ।
हाल पर्साको प्रहरी नेतृत्वमा प्रहरी उपरीक्षक पवन भट्टराई आएपछि पुराना मुद्दाको अवस्था र फरार अभियुक्तहरूको खोजीबारे जानकारी लिइएको प्रहरीले जनाएको छ । त्यसक्रममा ठाकुरको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको र उक्त टोलीले काठमाडौं पुगेर उनलाई पक्राउ गरेको हो । पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार ठाकुरसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी परेको छ । थप अनुसन्धानपछि प्राप्त तथ्यका आधारमा कानुनबमोजिम कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
महानगरका कर्मचारीलाई धम्की दिएको आरोप पनि
ठाकुर यसअघि पनि विवादमा आएका व्यक्ति हुन् । वीरगंज महानगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको तथा अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा नगर प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो । महानगरपालिकाले प्रहरीलाई औपचारिक पत्र पठाउँदै ठाकुरले विभिन्न व्यक्तिको नाममा फर्जी वारेसनामा तयार पार्ने, वीरगंजका नागरिकलाई धम्क्याउने र रकम असुली गर्न खोज्ने गतिविधि गरेको भन्दै कानुनी कारबाहीको माग गरेको थियो । महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण तथा नक्सा शाखा प्रमुख गौरव झामाथि समेत दुर्व्यवहार गरेको महानगरको दाबी थियो ।
तर तत्कालीन प्रहरी उपरीक्षक पाठकको कार्यकालमा ठाकुरलाई सामान्य तारेखमा छाडिएको भन्दै महानगरका कर्मचारी असन्तुष्ट बनेका थिए । अहिले उनै ठाकुर ठगीसम्बन्धी मुद्दामा पक्राउ परेपछि त्यसबेला प्रहरीबाट भएको निर्णयमाथि पनि प्रश्न उठ्न थालेको छ ।
महानगरका एक कर्मचारीका अनुसार कार्यस्थलमै आएर कर्मचारीलाई धम्की दिने व्यक्तिलाई स्थानीय तहले कानुनी कारबाहीका लागि प्रहरीमा बुझाए पनि सामान्य तारेखमा छाडिँदा कर्मचारीको सुरक्षामाथि नै प्रश्न खडा भएको थियो ।
‘माथिसम्म पहुँच छ’ भन्दै दबाब
ठाकुरमाथि आफूलाई शक्तिशाली सरकारी निकाय तथा उच्च अधिकारीहरूसँग निकट रहेको देखाएर सम्बन्धित व्यक्तिमाथि दबाब सिर्जना गर्ने गरेको आरोप पनि लागेको छ । सम्बन्धित व्यक्तिहरूका अनुसार ठाकुरले आफू प्रहरी महानिरीक्षकदेखि मन्त्रालयका सचिव, सरकारी वकिल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, नापी, मालपोत तथा न्यायालयका उच्च तहका अधिकारीसँग पहुँच रहेको दाबी गर्दै आएका थिए ।
भारतीय दूतावाससम्म आफ्नो पहुँच रहेको बताउँदै कर्मचारी तथा जग्गाधनीलाई घुमाउरो शैलीमा दबाब दिने गरेको आरोपसमेत एक कर्मचारीले लगाएका छन् । अब ठाकुर पक्राउ परेसँगै उनले दाबी गर्दै आएको भनिएको ‘शक्ति पहुँच’ वास्तविक थियो वा मानिसलाई प्रभावित पार्न प्रयोग गरिएको रणनीति मात्र थियो ? भन्ने प्रश्न पनि अनुसन्धानको महत्वपूर्ण विषय बन्ने देखिएको छ । आदर्शनगरका जग्गाधनी सुनिल गुप्ताले समेत ठाकुरले दाबी गर्दै आएको पहुँचको वास्तविकता अनुसन्धानबाट बाहिर आउनुपर्ने बताएका छन् ।
विवादित जग्गा खोज्दै कागजात बोकेर घरदैलोमा
ठाकुर नापी कार्यालयका पूर्वकर्मचारी हुन् । जागिर छाडेपछि उनले विवादित घरजग्गासम्बन्धी कागजात संकलन गर्ने र त्यसका आधारमा सम्बन्धित सरकारी कार्यालय तथा जग्गाधनीसम्म पुगेर विवाद खडा गर्ने गरेको आरोप लाग्दै आएको छ । जग्गाधनीहरूको भनाइअनुसार उनको कथित कार्यशैलीमा सुरुमा सम्बन्धित जग्गाधनीलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्ने, त्यसबाट सफलता नपाए विभिन्न माध्यमबाट मानसिक दबाब तथा त्रास सिर्जना गर्ने र अन्ततः विवाद समाधान गरिदिने नाममा ठूलो रकम माग गर्ने प्रवृत्ति देखिन्थ्यो ।
वीरगंजका विभिन्न प्रतिष्ठित सम्पत्तिमा समेत यस्तै प्रकृतिको विवाद सिर्जना गरेको आरोप ठाकुरमाथि लाग्दै आएको छ । स्काईलाइन मल, पुरानो रेल्वे लाइन क्षेत्रमा पर्ने छपकैयाको करिब ३२ कट्ठा जग्गा, सलाई फ्याक्ट्रीको जग्गा तथा जैन धर्मशालानजिक उद्योगी अशोककुमार वैद्यको जग्गालगायतका सम्पत्तिमा समेत किचलो सिर्जना गरी रकम असुल्न खोजेको आरोप उनीमाथि छ ।
को हुन् संजय ठाकुर ?
सर्लाहीको बलरा नगरपालिका–८ स्थायी घर भएका ठाकुर नापी कार्यालयका पूर्वकर्मचारी हुन् । उनले २०५३ सालमा सर्वेक्षक पदबाट सरकारी सेवा सुरु गरेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अधिकृत पदमा बढुवा भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा दोषी ठहर भएपछि उनले सरकारी सेवाबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको छ ।
सरकारी सेवामा प्रवेश गर्नुअघि उनले २०५१ सालमा तत्कालीन कृषि मन्त्री महन्थ ठाकुरको सचिवालयमा काम गरेको तथा केही समय हुलाक कार्यालयमा करार सेवामा समेत काम गरेको बताइन्छ । सरकारी सेवाबाट बाहिरिएपछि भने विवादित घरजग्गाका कागजातलाई आधार बनाएर विभिन्न स्थानमा विवाद सिर्जना गर्दै आएको आरोप उनीमाथि लाग्दै आएको छ ।
अब अनुसन्धानको घेरामा को–को पर्छन् ?
ठाकुर पक्राउ परेसँगै के उनी एक्लै यस्ता गतिविधिमा संलग्न थिए, वा उनको पछाडि अरू व्यक्तिको समेत संगठित भूमिका थियो ? भन्ने अनुसन्धानको विषय बनेको छ । प्रहरीले ठाकुरसहित अन्य व्यक्तिविरुद्ध समेत जाहेरी परेको पुष्टि गरिसकेको छ । यसले अनुसन्धानको दायरा एक व्यक्तिमा सीमित नरहने संकेत गरेको छ ।
विशेषगरी विवादित जग्गाका पुराना कागजात कसरी प्राप्त भए, ती कागजातको वैधानिकता के हो, फर्जी वारेसनामा बनाइएको भए त्यसमा को–को संलग्न थिए, सरकारी कार्यालयमा रहेका अभिलेख कसरी प्रयोग भए र जग्गाधनीसँग रकम बार्गेनिङ गर्ने प्रक्रियामा अन्य व्यक्तिको भूमिका थियो कि थिएन भन्ने प्रश्नको जवाफ खोजिन आवश्यक छ ।
त्यसैगरी, आफूलाई उच्च तहका सरकारी अधिकारीदेखि संवैधानिक निकायसम्म पहुँच रहेको दाबी गर्ने व्यक्तिले कसको नाम प्रयोग गरे ? कसैको वास्तविक संरक्षण थियो कि केवल डर देखाउने हतियारका रूपमा ती नाम प्रयोग गरिए ? भन्ने विषय पनि अनुसन्धानको दायरामा आउनुपर्छ ।
‘भूमाफिया’ सञ्जाल छ भने पर्दाफास हुनैपर्छ
वीरगंजमा सार्वजनिक तथा निजी जग्गामा विवाद खडा गर्ने, पुराना कागजात वा वारेसनामाका आधारमा दाबी प्रस्तुत गर्ने, सरकारी निकायमा उजुरी र दबाब सिर्जना गर्ने तथा अन्ततः विवाद समाधानको नाममा आर्थिक लेनदेनको प्रयास गर्ने प्रवृत्तिबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ । ठाकुरको पक्राउले यस्ता गतिविधिको वास्तविकता पत्ता लगाउने एउटा महत्वपूर्ण ढोका खोलेको छ ।
अब प्रहरीसामु चुनौती ठाकुरलाई पक्राउ गर्नु मात्र होइन, उनले सञ्चालन गरेको भनिएको सम्पूर्ण गतिविधिको जरोसम्म पुग्नु हो । यदि उनी एक्लै थिए भने त्यसको तथ्य अनुसन्धानबाट स्पष्ट हुनुपर्छ । यदि उनको पछाडि व्यक्ति, समूह वा कुनै सरकारी तथा गैरसरकारी संयन्त्रको सहजीकरण थियो भने त्यो पनि सार्वजनिक हुनुपर्छ । त्यस्तै, विगतमा उनीविरुद्ध मुद्दा दर्ता हुँदाहुँदै पक्राउ किन भएन ? महानगरपालिकाले कानुनी कारबाहीका लागि प्रहरीमा बुझाउँदा सामान्य तारेखमा किन छाडियो ? ती निर्णयका पछाडि कुनै दबाब, प्रभाव वा कमजोरी थियो कि थिएन ? भन्ने प्रश्नको समेत निष्पक्ष समीक्षा आवश्यक छ ।
ठाकुर पक्राउले वीरगंजका विवादित जग्गा, फर्जी कागजात, कथित शक्ति पहुँच, धम्की र आर्थिक बार्गेनिङसँग जोडिएका घटनामाथि गहिरो अनुसन्धानको बाटो भने खोलेको छ । अब अनुसन्धानले केवल ‘संजय ठाकुरले के गरे ?’ भन्ने प्रश्नको उत्तर दिएर पुग्दैन । उसले अझ ठूलो प्रश्नको जवाफ दिनुपर्छ ‘वीरगंजका विवादित घरजग्गामा चलिरहेको भनिएको खेलमा ठाकुर एक्ला खेलाडी हुन्, कि पछाडि अझ ठूलो सञ्जाल छ ?’ त्यो सञ्जाल छ भने पर्दाफास हुनैपर्छ ।







प्रतिक्रिया दिनुहोस् !