वीरगंज (पर्सा), २१ भदौ । प्याब्सन वीरगंजको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट ग्रुप ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, ग्रुप ‘बी’ बाट मास्कट एकेडेमी, ग्रुप ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, ग्रुप ‘डी’ बाट रोयल एकेडेमी र ग्रुप ‘ई’ बाट ज्ञान ज्योति माध्यमिक विद्यालय फाइनलका लागि छनोट भएका हुन् ।
क्वालिफिकेशन राउन्डमा पाँच समूहमा गरी ३१ विद्यालय सहभागी थिए। ग्रुप ‘बी’ मा सात तथा अन्य चार समूहमा छ–छ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये प्रत्येक समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै पाँच विद्यालयले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको सिनियरतर्फको फाइनल भदौ २३ गते बिहान १० बजे डिएभी स्कुलमा हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकले जानकारी दिए । फाइनलमा पाँच विद्यालयबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
यसअघि वीरगंजको ज्योतिनगरस्थित लिटल एन्जल्स स्कूलमा आयोजित क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए । दुवै अध्यक्षले गमलामा पानी हालेर प्रतियोगिताको क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए । कार्यक्रममा प्याब्सन वीरगंजका नगर सदस्य विजय बल, सुमित कलवार, प्रेस कोर्डिनेटर दिपु वर्णवाल, लिटल एन्जल्स स्कूलका प्रधानाध्यापक सन्नी पाख्रिन, विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङलगायतको उपस्थिति थियो । प्रतियोगिताले विद्यार्थीमा ज्ञान, तर्कशक्ति, तत्काल निर्णय क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने आयोजकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !