वीरगंज (पर्सा), २ कात्तिक । पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै असोज महिनामा मात्रै लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरेको छ । ती घटनामा संलग्न रहेको आरोपमा २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरणअनुसार प्रहरीले उक्त अवधिमा ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरेको छ । लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई प्राथमिकतामा राखेको विवरणले देखाएको छ ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले अनुसन्धान, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई समेत सँगसँगै अघि बढाएको जनाएको छ । समुदायस्तरमा लागुऔषधसम्बन्धी ३७ वटा कार्यक्रम सञ्चालन गरी ५८४ जनालाई सहभागी गराइएको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार असोज महिनामा जिल्लाभर विभिन्न प्रकृतिका १११ वटा अपराध दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी आठ, चोरीसम्बन्धी चार, संगठित तथा सामाजिक अपराधसम्बन्धी नौ, आर्थिक अपराधसम्बन्धी १७, महिला तथा बालबालिकासम्बन्धी ६१ र सवारी ज्यानसम्बन्धी दुई घटना रहेका छन् ।
त्यस्तै, चालु मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनतर्फ १०३ जना पक्राउ गरिएको छ । उनीहरूबाट ४० वर्ष ११ महिना १२ दिन कैद र २ करोड ७१ लाख १२ हजार ४४२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ ।
यसै अवधिमा प्रहरीले ४० वटा सवारी दुर्घटना भएको जनाएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३४४ वटा सवारीसाधनमाथि कारबाही गरी १६ लाख ३६ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरेको छ ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणतर्फ प्रहरीले भन्सार छलीका सामान ७५ लाख ४४ हजार ४९ रुपैयाँ बराबरको बरामद गरेको छ । अवैध हातहतियारतर्फ पाँचवटा हतियार र छ राउन्ड गोलीगट्ठा बरामद गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले अपराध नियन्त्रणका लागि सीसीटीभी, डिजिटल निगरानी, सामाजिक सञ्जाल अनुगमन, गस्ती, चेकिङ तथा मोबाइल क्विक रेस्पोन्स टिम परिचालनजस्ता उपाय अपनाइएको जनाएको छ । लागुऔषध कारोबार, सीमा क्षेत्रमा हुने अवैध गतिविधि र अन्य आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले कारबाहीसँगै जनचेतनामूलक अभियानलाई पनि निरन्तरता दिएको जनाएको छ । 

























प्रतिक्रिया दिनुहोस् !