वीरगंज (पर्सा), २० भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले मधेशका थुप्रै परिवारलाई गहिरो पीडामा धकेलेको छ । रोजगारीका लागि रसुवा पुगेका आफन्तहरू बाढीपछि सम्पर्कविहीन बनेपछि मधेशका गाउँबस्तीमा अहिले सन्नाटा छाएको छ । घरका सदस्य सकुशल फर्किने आशामा परिवारजन दिनरात प्रतीक्षामा छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–८ का रामकुमार यादवका तीन भाइ रसुवाको दोभान हाइड्रोपावरमा कार्यरत थिए । बाढी आएको समयमा आयोजनामै रहेका उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
रामकुमारका अनुसार उनका तीनै भाइ प्राविधिक जनशक्तिका रूपमा कार्यरत थिए । ३५ वर्षीय शिवकुमार यादव इन्जिनियर, ३२ वर्षीय देवकुमार यादव ओभरसियर र २५ वर्षीय शचितकुमार यादव इलेक्ट्रिसियन थिए । एक भाइका दुई सन्तान छन् भने अर्का भाइको गत वैशाखमा मात्र विवाह भएको थियो । कान्छा भाइ अविवाहित छन् । तीनैजना एकैपटक बेपत्ता भएपछि परिवारमा पीडा झन् गहिरिएको रामकुमार बताउँछन् । ‘बाढी आउँदा उनीहरू काममै थिए । अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन । सरकारले पनि उनीहरू फसेको स्थानसम्म पुग्न सकेको छैन,’ रामकुमारले भने, ‘हामीसँग अहिले केही सोच्ने अवस्था छैन । ईश्वर र सरकारसँग एउटै आग्रह छ मेरा तीनै भाइ सकुशल भेटिऊन् ।’
यस्तै पीडा रौतहटको वृन्दावन नगरपालिका–१ रमोलीका गजेन्द्र रायको परिवारले पनि भोगिरहेको छ । उनकी ४६ वर्षीया आमा तेतरी देवी बाढीपछि बेपत्ता छिन् । राय परिवार आर्थिक अवस्था कमजोर भएपछि रोजगारीका लागि सपरिवार रसुवा पुगेको थियो । उनीहरू नुवाकोटको बेत्रावतीमा कवाडका सामान संकलन गरी बिक्री गर्ने काम गर्थे । बाढीपछि ज्यान जोगाएर परिवारका सदस्य सर्लाही फर्किए पनि तेतरी देवी भने सम्पर्कविहीन छिन् ।
‘हाम्रो आठ जनाको परिवार थियो । बाढीपछि ज्यान जोगियो, तर सबै कुरा गुम्यो । अब रसुवा कहिल्यै नजाने गरी फर्किएका छौँ,’ गजेन्द्रले भने, ‘अहिले बुवा र भाइ आमाको खोजीका लागि उतै हुनुहुन्छ । हामीसँग केही पनि बाँकी छैन । अहिले आमालाई सकुशल भेट्न पाए त्यही नै सबैभन्दा ठूलो कुरा हो ।’
पर्साको वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका तैयब मिया मन्सुरीका १७ वर्षीय छोरा समिम मिया पनि रसुवाबाटै बेपत्ता छन् । टोलकै एक व्यक्तिले सञ्चालन गरेको टायर बनाउने पसलमा काम गर्न रसुवा पुगेका समिम बाढीपछि सम्पर्कमा आएका छैनन् । तैयबका अनुसार जगरनाथपुरकै एउटै टोलबाट पाँच जना बेपत्ता छन् । ‘छोराको कुनै खबर नआउँदा दिमागले काम गरिरहेको छैन । पूरै टोल शोकमा छ । परिवारका सबै सदस्य बेचैन छन्,’ उनले भने । 
आशा अझै मरेको छैन
बाढीले रोजगारी, कमाइ र भविष्यका योजनासँगै परिवारका सपना पनि बगाएपनि बेपत्ता आफन्त जीवितै फर्किने आशा परिवारजनले अझै छाडेका छैनन् । एक साताभन्दा बढी समय बितिसक्दा पनि उनीहरू उद्धारको पर्खाइमा छन् । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशबाट २२० जना सम्पर्कविहीन भएको जानकारी आएकोमा ३८ जना परिवारको सम्पर्कमा फर्किएका छन् । अहिलेसम्म दुई जनाको मृत्यु पुष्टि भएको छ भने १८० जनाको अवस्था अझै अज्ञात रहेको छ ।
कतिपय परिवारले आफन्तको अवस्था पत्ता नलागेपछि गह्रौँ मन बनाएर कुशको शव बनाई अन्त्येष्टिसमेत गर्नुपरेको बताएका छन् । अर्कोतर्फ, धेरै परिवार भने कतैबाट उद्धार भएर आफ्ना प्रियजन फर्किने आशामा अझै प्रतीक्षारत छन् । आर्थिक अभावका कारण रोजगारी खोज्दै रसुवा पुगेका मधेशका नागरिक बाढीको चपेटामा परेपछि उनीहरूका घरपरिवारमा अहिले शोक र त्रास छ । अधिकांश परिवारको एउटै माग छ रसुवा बाढीमा बेपत्ता भएका आफ्ना प्रियजनको तत्काल खोजी होस् र जसरी भए पनि उनीहरूलाई घर फर्काइयोस् ।
कुन जिल्लाबाट कति बेपत्ता ?
मधेश प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार :
जिल्ला बेपत्ता सम्पर्कमा मृत्यु पुष्टि
सप्तरी ४३ ३ १ जना
पर्सा ४३ ३ –
बारा २२ ४ १ जना
सर्लाही २१ ६ –
रौतहट १४ ६ –
महोत्तरी १० ७ –
धनुषा ७ ७ –
सिराहा १२ २ –
यसैगरी, प्रहरी कर्मचारीतर्फ १० जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरीले जनाएको छ । जिल्लागत रूपमा पर्साका ३, रौतहटका ३, सर्लाहीका ३, धनुषाका १ र सप्तरीका १ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।
नामावली संकलनदेखि भारतसँग समन्वयसम्म
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयमा एक–एक जना फोकल पर्सन तोकेर रसुवा बाढीमा बेपत्ता भएकाहरूको विवरण संकलन भइरहेको छ । उनका अनुसार संकलित नामावली नियमित रूपमा केन्द्रमा पठाउने गरिएको छ । हालसम्म डीएनए परीक्षणका लागि कुनै परिवार सम्पर्कमा नआए पनि त्यस्तो आवश्यकता परेमा माथिल्लो निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।
बाढीमा बगेका शव नदीमार्फत भारततर्फ पुगेको अवस्थामा भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्न पनि प्रहरी तयारी अवस्थामा रहेको ढकालले बताए । रसुवा र नुवाकोटमा आएको बाढीले भौतिक संरचना मात्र होइन, मधेशका सयौं परिवारको जीवनमा गहिरो चोट पुर्याएको छ । उद्धारको समय लम्बिँदै गएपनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारहरूको आशा भने अझै बाँकी छ ‘हाम्रा मान्छे सकुशल फर्किऊन् ।’







प्रतिक्रिया दिनुहोस् !