काठमाडौँ, २० भदौ । भोटेकोशी बाढी आएको १०औँ र ११औँ दिनमा जलविद्युत् आयोजनाका सुरुङ तथा बाढीले बगाएका घरका भग्नावशेषबाट गरी हालसम्म चार जनाको जीवितै उद्धार गरिएको छ । लामो समयपछि पनि मानिसहरू जीवित अवस्थामा फेला पर्न थालेपछि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको सम्भावना अझै कायम रहेको देखिएको छ ।
शुक्रबार बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो । सञ्जय साह र कविर महर्जनलाई सुरुङभित्रको ट्रयापबाट जीवितै निकालिएको हो । त्यसको भोलिपल्ट शनिबार थप दुई जनाको उद्धार भएको छ । अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ भने नुवाकोटको बेत्रावतीमा बाढीले बगाएर क्षति पुर्याएको घरको संरचनाबाट चण्डिका श्रेष्ठलाई जीवितै निकालिएको हो ।
विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो । बाढीले बगाएर अन्यत्र पुर्याएको घरको भग्नावशेषभित्र चण्डिका फसेको अवस्थामा भेटिएकी थिइन् । चार जनाको जीवित उद्धारले सुरुङ तथा बाढीले क्षतिग्रस्त संरचनाभित्र अझै मानिसहरू जीवित अवस्थामा फसेको हुनसक्ने आशा जगाएको छ । यद्यपि दिनहरू बित्दै जाँदा सुरुङमा फसेकाहरूको अवस्था अज्ञात रहँदा परिवारजन र उद्धार टोलीको चिन्ता पनि बढ्दै गएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजनामा बाढी आउँदा काम भइरहेको थियो । तीमध्ये आधाभन्दा बढी आयोजनाका सुरुङमा काम चलिरहेको बताइएको छ । त्यसैले विभिन्न आयोजनाका सुरुङमा अझै मानिसहरू फसेको आशंका गरिएको छ । सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेका छन् । तर सुरुङको जटिल संरचना र बाढीका कारण उत्पन्न परिस्थितिले उद्धार कार्यलाई कठिन बनाएको छ । कतिपय स्थानमा उद्धारकर्ता अहिलेसम्म पुग्नसमेत सकेका छैनन् ।
यसअघि सुरुङभित्र मानिस फसेको विवरण मात्र सार्वजनिक हुँदै आएकोमा चण्डिका श्रेष्ठको उद्धारपछि बाढीले बगाएका तथा पुरिएका घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने नयाँ तथ्य बाहिर आएको छ । भोटेकोशी बाढीले रसुवा गढीदेखि धादिङको गलौंदीसम्मका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ । कतिपय घर पूर्णरूपमा पुरिएका छन् भने केही घर बाढीको वेगले पल्टिएका वा बगाइएका छन् । त्यस्ता क्षतिग्रस्त संरचनाभित्र पनि मानिस च्यापिएको हुनसक्ने सम्भावना बढेको छ ।
गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेको बताएका छन् । चार जनाको जीवित उद्धारपछि अब बाढीले क्षति पुर्याएका घर, पुरिएका बस्ती र जलविद्युत् आयोजनाका सुरुङमा थप खोजीलाई तीव्रता दिनुपर्ने देखिएको छ ।







प्रतिक्रिया दिनुहोस् !