नुवाकोट, २० भदौ । बेत्रावतीमा बाढीले बगाएर करिब ५० मिटर पर पुर्याएको घरको भग्नावशेषबाट चण्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ । बाढी आएको लामो समयपछि घरको संरचनाभित्रबाट जीवित व्यक्ति फेला परेपछि प्रभावित क्षेत्रमा थप खोजी आवश्यक रहेको देखिएको छ ।
स्थानीय नारायणलाल डंगोलका अनुसार चण्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो । बाढीको तीव्र बहावले घरलाई नै बगाएर डंगोलको घर रहेको स्थानबाट करिब ५० मिटर पर पुर्याएको थियो । त्यही बगाएर ल्याइएको घरको संरचनाभित्र चण्डिका फसेको अवस्थामा फेला परेकी हुन् । विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बगेर आएको घरभित्रबाट मानिसको आवाज सुनिएपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि उद्धार टोलीले खोजी गर्दै चण्डिकालाई जीवित अवस्थामा बाहिर निकालेको हो ।
उद्धारपछि चण्डिकालाई उपचारका लागि छाउनी अस्पताल लगिएको उनका देवरले बताएका छन् । ‘भाउजुसँग कुरा भयो, छाउनीमा ल्याइएको छ,’ उनले भने । चण्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको बताइएको छ । बाढी आएको ११ दिनपछि घरको भग्नावशेषबाट चण्डिका जीवित भेटिएपछि बाढी प्रभावित अन्य क्षेत्रमा पनि यस्तै अवस्था हुनसक्ने आशंका बढेको छ । रसुवा गढीदेखि धादिङको गलौंदी क्षेत्रसम्म बाढीले ठूलो क्षति पुर्याएको छ । कतिपय घर पूर्णरूपमा पुरिएका छन् भने केही संरचना बाढीले बगाएर वा पल्टाएर क्षतिग्रस्त बनाएको छ ।
यसअघि शनिबार नै अपर त्रिशूली–१ आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको थियो । त्यस्तै, शुक्रबार त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनालाई उद्धार गरिएको थियो । सुरुङमा मानिस फसेको विवरण सार्वजनिक भइरहेका बेला बाढीले बगाएका घरका संरचनाभित्र पनि मानिस जीवितै फसेको पुष्टि भएको हो । चण्डिकाको उद्धारले बाढीबाट क्षतिग्रस्त तथा पुरिएका घरहरूको पुनः गम्भीरतापूर्वक खोजी गर्नुपर्ने आवश्यकता देखाएको छ ।
यस्ता संरचनाभित्र अझै मानिस फसेका हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र पारिएको छ । गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी रहेको बताएका छन् ।







प्रतिक्रिया दिनुहोस् !