वीरगंज (पर्सा), १८ भदौ । आफ्नै बुवाले जन्मदर्ता बनाउन आवश्यक प्रक्रिया अघि नबढाइदिँदा पर्साका एक २० वर्षीय युवक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित भएका छन् । जन्मदर्ता र नागरिकता नहुँदा शिक्षा लिनेदेखि अन्य नागरिक अधिकार उपभोग गर्नसमेत समस्या भएको युवकले गुनासो गरेका छन् । वीरगंज महानगरपालिका–२६ निवासी सूर्यप्रसाद साहले अहिलेसम्म आफ्नो जन्मदर्ता बनाउन सकेका छैनन् । जन्मदर्ता नै नभएपछि नागरिकता बनाउन आवश्यक प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ ।
सूर्यप्रसादकी आमा उनी सानै छँदा घरबाट अलग भएपछि उनी बहुदरमाई नगरपालिका–१ स्थित मामाघरमा बस्दै आएका छन् । जन्मदर्ता नहुँदा आफूले विद्यालयमा समेत अध्ययन गर्न नपाएको उनले बताएका छन् । आफ्नो जन्मदर्ता बनाइदिन बुवा बालकुमार साह तेलीलाई पटक–पटक आग्रह गरेपनि आश्वासन मात्रै पाउने गरेको सूर्यप्रसादको गुनासो छ । उनका अनुसार बुवाले ‘बनाइदिन्छु’ भन्दै आएपनि अहिलेसम्म आवश्यक प्रक्रिया पूरा गरेका छैनन् ।
अंश मुद्दामा भने अदालतबाट पक्षमा फैसला
पहिचानसम्बन्धी आधारभूत कागजातसमेत नपाएका सूर्यप्रसादले आफ्नो अंश अधिकारका लागि भने अदालतको ढोका ढकढक्याएका थिए । उनले २०८२ साल भदौ ३ गते पर्सा जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए । स्थानीय नेता शिव पटेलका अनुसार उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०८३ साल वैशाख ८ गते फैसला गर्दै सूर्यप्रसादको अंश कायम हुने निर्णय गरेको हो ।
न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले गरेको फैसलाअनुसार बुवा बालकुमार साहको सम्पत्तिबाट दुई खण्डको एक खण्ड अंश वादी सूर्यप्रसादले छुट्याई पाउने ठहर भएको पटेलले जानकारी दिए । तर अदालतबाट सम्पत्तिमा अंश पाउने अधिकार स्थापित भइसकेपनि सूर्यप्रसादले आफ्नो आधारभूत पहिचानका कागजात भने पाउन सकेका छैनन् । जन्मदर्ता नबन्दा वडा कार्यालयबाट नागरिकता बनाउन आवश्यक सिफारिससमेत हुन नसकेको पटेलको भनाइ छ ।
‘अदालतले अंश दियो, तर जन्मदर्ता अझै भएन’
पटेलका अनुसार सूर्यप्रसादको जन्मदर्ता र नागरिकताको विषयमा वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म पहल गरिएको छ । तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । ‘एक नेपाली नागरिकले आफ्नो जन्मदर्ता र नागरिकता नपाउँदा दुःख लागेको छ,’ पटेलले भने । जन्मदर्ता र नागरिकता जस्ता आधारभूत कागजातको अभावमा एक युवाको शिक्षा, नागरिक अधिकार तथा दैनिक जीवनसँग जोडिएका कामसमेत प्रभावित भइरहेकाले समस्या तत्काल समाधान हुनुपर्ने उनको भनाइ छ ।
वडाध्यक्ष भन्छन्ः ‘बुवाको हस्ताक्षर नहुँदा समस्या भयो’
वीरगंज महानगरपालिका–२६ का वडाध्यक्ष शम्भु मिश्राले सूर्यप्रसादको जन्मदर्ता बनाउन बुवाले आवश्यक हस्ताक्षर गर्न नमानेका कारण समस्या देखिएको बताए । यद्यपि अदालतबाट सूर्यप्रसादको अंश कायम हुने फैसला आइसकेपछि जन्मदर्ता बनाउने विषयमा आवश्यक प्रक्रिया र छलफल अघि बढिरहेको उनले जानकारी दिए ।
वडाध्यक्ष मिश्राले सूर्यप्रसादको जन्मदर्ता बनाउन र नागरिकताका लागि आवश्यक सिफारिस गर्न वडा कार्यालयको तर्फबाट कुनै अवरोध नरहेको स्पष्ट पारे । कानुनअनुसार गर्नुपर्ने प्रक्रिया पूरा गर्न आफूले कुनै काम नरोकिने उनको भनाइ छ । जन्मदर्ता र नागरिकता जस्ता राज्यले प्रदान गर्ने आधारभूत पहिचानबाटै एक युवा लामो समयदेखि वञ्चित रहनुपर्ने अवस्थाले प्रशासनिक प्रक्रियासँगै नागरिक अधिकारको कार्यान्वयनमाथि समेत प्रश्न उठाएको छ ।







प्रतिक्रिया दिनुहोस् !