बोदेबर्साइन (सप्तरी), १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सप्तरीका कैयौँ परिवारलाई शोक र अनिश्चितताको अवस्थामा पुर्याएको छ । बाढी आएको एक साता बितिसक्दा पनि आफ्ना तीन भाइको कुनै खबर नआएपछि बोदेबर्साइन नगरपालिका–८ काचनका रामकुमार यादव परिवारका सदस्य फर्किने झिनो आशामा दिन काटिरहेका छन् । रामकुमारका तीनै भाइ रसुवामा रहेको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए । माइलो भाइ ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित यादव ओभरसियरका रूपमा आयोजनामा काम गर्दै आएका थिए ।
बाढीपछि तीनै जना एकैपटक सम्पर्कविहीन भएपछि यादव परिवारमा चुलोसमेत बल्न छाडेको छ । रामकुमारका अनुसार भाइहरूको सम्झनाले परिवारलाई दिनरात सताइरहेको छ । ‘घरमा चुलो नबलेको एक हप्ता भयो । भाइहरूकै सम्झनाले सताइरहेको छ,’ रामकुमारले भने, ‘अहिलेसम्म सम्पर्कमा नआए पनि उनीहरू सकुशल घर फर्किन्छन् भन्ने झिनो आशा छ ।’ स्थानीय विनोद साहका अनुसार ७० वर्षीया आमा छिनछिनमा छोराहरूलाई खोजिदिन आग्रह गर्दै मुर्छित हुने अवस्था छ । तीन छोरामध्ये दुई विवाहित र एक अविवाहित थिए । शिवकुमारको विवाह भएको पाँच वर्ष भएको थियो र उहाँका दुई सन्तान छन् । देवकुमारको भने यही वैशाखमा विवाह भएको थियो । सचित अविवाहित थिए ।
तीनै छोरा रसुवामा रोजगारीमा गएपछि यादव परिवार आर्थिक रूपमा सहज हुँदै गएको थियो । तर, एकाएक आएको बाढीले परिवारलाई गहिरो पीडामा धकेलेको छ । बाढी आएको दिन बिहान शिवकुमारले आफ्नी पत्नीसँग सामान्य कुराकानीसमेत गरेका थिए । त्यतिबेला बाढी आउन लागेको कुनै संकेत नदेखिएको उनकी पत्नी बताउँछिन् । त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेन । छोराहरूको खोजीमा बुबा लालबहादुर यादवसमेत रसुवा पुगेको चार दिन भइसकेको छ । तर, अहिलेसम्म तीनै छोराबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
अजयको परिवारमा पनि उस्तै सन्नाटा
सप्तरीकै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको अवस्था पनि उस्तै छ । रसुवामा बाढी आएदेखि अजय सम्पर्कविहीन छन् । अजय उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा शिक्षकका रूपमा कार्यरत थिए । उनी सोही क्षेत्रमा डेरा लिएर बस्दै आएका थिए । बाढीपछि अजयको कुनै खबर नआएपछि परिवारमा सन्नाटा छाएको छ । आमाबुबा पटक–पटक मुर्छित हुने अवस्थामा पुगेका छन् भने आफन्तहरू चिन्तामा छन् । अजयको खोजीका लागि मामाका छोरा श्यामसुन्दर यादवसमेत रसुवा पुगेका थिए । तर, त्यहाँ पुगेर खोजी गर्दा पनि अजयको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ ।
हाइड्रोपावरमा कार्यरत सरोज पनि बेपत्ता
रसुवाकै मेलुङ्ग–५ स्थित एमभी हाइड्रोपावरमा काम गर्ने सप्तरीको सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन् । सरोजको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको छ । यसैगरी सुरुङ्गा नगरपालिका–७ बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र तीन वर्षीय छोरा दिवासकुमार राम पनि बाढीपछि बेपत्ता छन् ।
दुर्गानन्द करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न पत्नी र छोरासहित नुवाकोटको त्रिशूली बजारमा बस्दै अएका थिए । दुर्गानन्द भने सकुशल रहेपनि उनकी पत्नी र तीन वर्षीय छोरा अझै सम्पर्कमा आएका छैनन् ।
सन्तोषको मृत्यु पुष्टि, अन्यको खोजी जारी
यसैबीच नुवाकोटमा हाइड्रोपावरमा काम गर्ने सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । सन्तोषको शव गण्डकी अस्पताल, कास्की पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए । ‘बेपत्ताको खोजीकार्य जारी छ । कुनै सूचना प्राप्त भए पीडित परिवारलाई तत्काल जानकारी गराउँछौँ,’ उनले भने ।
बाढीका कारण बोदेबर्साइन नगरपालिका आसपासका मात्रै करिब ४८ जना अझै सम्पर्कमा नआएको बताइएको छ । उनीहरूका परिवार आफन्तको अवस्थाबारे कुनै खबर आउने आशामा बसेका छन् । विशेषगरी सुरुङ तथा टनेलभित्र फसेका व्यक्तिको तत्काल उद्धार गर्न पीडित परिवारले सरकारसँग माग गरिरहेका छन् ।
सप्तरीका दर्जनौँ परिवारमा छाएको छ अनिश्चितता
मधेश प्रदेश प्रहरी कार्यालयको मंगलबारसम्मको तथ्याङ्कअनुसार रसुवामा आएको बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् । १९५ जना बेपत्ता भएकामध्ये ३० जना सम्पर्कमा आइसकेका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीबाट मात्रै ४९ जना प्रभावित भएको विवरणमा उल्लेख छ । तीमध्ये एक जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु पुष्टि भएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएपछि त्यसको असर सप्तरीसम्म आइपुगेको छ । आफ्ना आफन्तको अवस्था थाहा नहुँदा सप्तरीका दर्जनौँ परिवार यतिबेला पीडा, त्रास र अनिश्चितताको बीचमा छन् । एक सातासम्म पनि तीन भाइको खबर नपाएका रामकुमार यादवको परिवारजस्तै अन्य परिवारको पनि एउटै प्रश्न छ ‘बाढीले सम्पर्कविहीन बनाएका आफ्ना मान्छे कहिले फर्किएलान् ?’







प्रतिक्रिया दिनुहोस् !