वीरगंज (पर्सा), २६ साउन । ‘वन्दे मातरम्’को १५० वर्ष पूरा भएको अवसर तथा भारतको ८० औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगंजले विशेष सांस्कृतिक साँझ आयोजना गरेको छ । वीरगंजमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा चर्चित कलाकारहरूले संगीत, नृत्यलगायतका विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यार्थी र कलाकारहरूको प्रस्तुतिले कार्यक्रमस्थललाई उत्साह, उल्लास र सांस्कृतिक रंगले भरिएको थियो ।
कार्यक्रममा वीरगंजका विभिन्न क्षेत्रका १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । वीरगंज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (वीरगंज उद्योग वाणिज्य संघ), नेपाल–भारत मैत्री संघ, महिला प्रतिनिधि, शिक्षक, प्रधानाध्यापक, कलाकार तथा विभिन्न सामाजिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुत गरिएका संगीत तथा नृत्यले दुई देशबीचको साझा सांस्कृतिक सम्बन्धलाई उजागर गरेको थियो । विशेषगरी विद्यार्थी तथा स्थानीय कलाकारहरूको सहभागिताले सांस्कृतिक सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्ने सन्देश दिएको थियो ।
‘वन्दे मातरम्’को १५० वर्ष पूरा भएको ऐतिहासिक अवसरलाई स्मरण गर्दै आयोजना गरिएको सांस्कृतिक साँझले नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यसमेत बोकेको आयोजकको भनाइ छ । भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र साझा सांस्कृतिक विरासतलाई समेत प्रतिबिम्बित गरेको थियो । वीरगंज र भारतबीचको निकट सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमले जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, कलाकार, व्यवसायी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले सांस्कृतिक आदानप्रदानले नेपाल–भारत सम्बन्धलाई जनस्तरसम्म थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । भारतको राष्ट्रिय चेतनासँग जोडिएको ‘वन्दे मातरम्’को १५०औँ वर्षलाई केन्द्रमा राखेर आयोजना गरिएको सांस्कृतिक साँझ यसरी नेपालमा पनि साझा इतिहास, संस्कृति र जनस्तरको सम्बन्धलाई स्मरण गर्ने अवसर बनेको थियो ।








प्रतिक्रिया दिनुहोस् !