देवानगञ्ज (सुनसरी), ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको छ । घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ भने विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएको छ । सरकारले घटनालाई गम्भीर रूपमा लिँदै प्रशासनिक तथा सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गर्नुका साथै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी देवानगञ्ज र हरिनगर गाउँपालिकाअन्तर्गत पर्ने पाँच प्रमुख बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलन पूर्ण रूपमा निषेध गरिएको छ । कर्फ्यु हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा तोकिएको सीमा भित्र लागू गरिएको छ । साथै, हरिनगर र देवानगञ्ज गाउँपालिकाका क्षेत्रमा निषेधाज्ञासमेत जारी गरिएको प्रशासनले जनाएको छ ।
बोलबम यात्राको तयारीदेखि हिंसात्मक झडपसम्म
आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको युवाहरूको समूहलाई अर्को पक्षले रातिको समयमा होहल्ला भएको भन्दै रोक्न खोजेपछि विवाद सुरु भएको थियो । सामान्य भनाभन झडपमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर गएको र त्यसपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
जनकपुर, सिरहा, सप्तरी र वीरगंजमा पनि विरोध प्रदर्शन
सुनसरी घटनाको विरोध देशका विभिन्न जिल्लामा फैलिएको छ । जनकपुरधामको रामानन्द चोकमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गर्दै दुवैको तस्वीर जलाएका छन् । यस्तै, सिरहाको गोलबजार र कर्जन्हामा पनि आन्दोलन चर्किएको छ ।
प्रदर्शनकारीहरूले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, गृहमन्त्रीको राजीनामा तथा प्रहरी दमन अन्त्यको माग गरेका छन् । उनीहरूले समयमै ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रदर्शन भइरहेको पुष्टि गर्दै प्रदर्शनकारीसँग संवादको प्रयास भइरहेको र हालसम्म अवस्था नियन्त्रणमै रहेको बताएका छन् । 
यसैगरी, सप्तरीको राजविराजमा पनि प्रदर्शन भएको छ । नेता चोकमा टायर बालेर विरोध जनाइएको थियो । स्थानीय युवाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति तथा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरि उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । गहवामाई मन्दिर परिसरबाट सुरु भएको विरोध जुलुस आदर्शनगर चोक, अलखिया मठ चोक र घडीअर्वा हुँदै घण्टाघर चोकसम्म पुगेको थियो ।
घण्टाघरमा पुगेर प्रदर्शनकारीहरूले टायर बाल्दै नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा ‘हिन्दुलाई मार्न पाइँदैन’, ‘सुनसरीमा हिन्दुमाथि गोली चलाउनेलाई कारबाही गर’, ‘सुनसरीका सीडीओ राजीनामा दे’, ‘गृहमन्त्री सुधन गुरुङ मुर्दावाद’ तथा ‘हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा घन्किएका थिए ।
यसैबीच, घण्टाघर चोकमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही समय प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल तथा सामान्य घम्साघम्सी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रहरी नेतृत्वमा व्यापक हेरफेर
घटनापछि गृह मन्त्रालयले सुनसरी र कोशी प्रदेशको सुरक्षा नेतृत्वमा व्यापक परिवर्तन गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ । त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर उनको स्थानमा डीआईजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ । 
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवा सरुवा गरिएको छ भने उनको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाइएको छ । सशस्त्र प्रहरीतर्फ कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाई डीएसपी मदन नाथलाई पठाइएको छ । सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीलाई पनि हटाएर एसपी लवकुमार सापकोटालाई जिम्मेवारी दिइएको छ ।
२४ जना घाइते, छानबिन समिति गठन
प्रहरीका अनुसार घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरीसहित कुल २४ जना घाइते भएका छन् । घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
सुनसरीको गोलीकाण्डपछि एकातर्फ प्रभावित क्षेत्रमा कर्फ्यु जारी छ भने अर्कोतर्फ देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन तीव्र बन्दै गएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वमा गरिएको हेरफेर तथा छानबिन प्रक्रिया सुरु भएपनि घटनाले राष्ट्रिय राजनीतिक तथा सुरक्षा वृत्तमा गम्भीर बहस सिर्जना गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !