पोखरिया (पर्सा), ११ असार । पर्साको पोखरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न ११औँ नगरसभामा नगरपालिकाको नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखर कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, महिला तथा बालबालिका सशक्तीकरण, खेलकुद र ज्येष्ठ नागरिक कल्याणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख प्रद्युम्नप्रसाद चौहानले पछिल्ला वर्षहरूमा पोखरियाले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरे । उनले नगर क्षेत्रमा धार्मिक, शैक्षिक, स्वास्थ्य तथा प्रशासनिक पूर्वाधार विस्तारका महत्वपूर्ण कामहरू अघि बढिरहेको बताए ।
उनका अनुसार पोखरियामा शिव मन्दिर निर्माण, प्रादेशिक अस्पताल स्थापना, मालपोत कार्यालय र नापी कार्यालय सञ्चालनका कार्य सम्पन्न भइसकेका छन् । त्यस्तै पोखरिया उच्च माध्यमिक विद्यालयको भवन निर्माण तथा महोबनी माध्यमिक विद्यालयको भवन निर्माण कार्य पनि अघि बढिरहेको उनले जानकारी दिए । नगरप्रमुख चौहानले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल भइरहेको र नगर विकास परियोजनाअन्तर्गतका कामले गति लिइसकेको उल्लेख गर्दै निकट भविष्यमा जग्गाधनीलाई लालपुर्जा वितरण गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयका कारण विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढेको दाबी गर्दै उनले पोखरियाको समग्र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । जिल्लाकै दोस्रो सदरमुकामका रूपमा परिचित पोखरियालाई व्यवस्थित र विकसित नगरका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरपालिकाको विकास यात्रालाई थप प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताए । नगरसभा कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस् !