वीरगंज (पर्सा), ७ असार । वीरगंजमा कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ‘नेक्सस ट्रेडर्स’ सञ्चालनमा आएको छ । कृषकलाई आधुनिक कृषि यन्त्र तथा उपकरण सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित प्रतिमा चोकमा स्थापित उक्त ट्रेडर्सको एक समारोहबीच उद्घाटन गरिएको हो । वीरगंज–लक्ष्मणवा निवासी युवा व्यवसायी सन्तोष साहको नेतृत्वमा सञ्चालनमा आएको नेक्सस ट्रेडर्सले विशेषगरी कृषकलाई लक्षित गर्दै अत्याधुनिक कृषि मेसिन तथा आवश्यक सामग्रीको बिक्री–वितरण गर्ने जनाएको छ ।
उद्घाटन कार्यक्रमका क्रममा साहकी छोरी जासमिन साहले रिबन काटेर औपचारिक रूपमा ट्रेडर्सको शुभारम्भ गरेकी थिइन् । लामो समयदेखि कृषि सामग्रीको बिक्री–वितरण क्षेत्रमा अनुभव बटुलेका साहले अब आफ्नै व्यवसायमार्फत कृषकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ नेक्सस ट्रेडर्स स्थापना गरेको बताए । उनका अनुसार कम्पनीले मधेश प्रदेश र चितवन जिल्लाका कृषकका लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्लोबल कम्पनीका कम्बाइन हार्भेस्टर उपलब्ध गराउनेछ । साथै, ती यन्त्रका आवश्यक पार्टपुर्जा तथा प्राविधिक सहयोगसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
साहले आइतबारदेखि नै कृषि यन्त्रहरूको बुकिङ प्रक्रिया सुरु गरिएको जानकारी दिँदै बजारमा उपलब्ध सामग्रीको तुलनामा गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा सेवा दिने प्रतिबद्धता व्यक्त गरे । कृषकले खरिद गरेका सामग्रीमा ग्यारेन्टी, वारेन्टी र बिक्रीपछिको सेवा (अफ्टर सेल्स सर्भिस) लाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ ।
उनका अनुसार नेपाली बजारमा सहज रूपमा प्राप्त हुने स्पेयर पाट्र्स भएका कृषि उपकरणलाई मात्रै प्राथमिकता दिइनेछ, जसले गर्दा कृषकले भविष्यमा मर्मत तथा सञ्चालनका क्रममा अनावश्यक समस्या भोग्न नपरोस् । गुणस्तरीय सेवा र विश्वासिलो सामग्रीमार्फत कृषकको उत्पादन क्षमता वृद्धि गर्न कम्पनीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उद्घाटनको अवसर पारेर कम्पनीले एक महिनासम्म विशेष छुटसहित कृषि सामग्री उपलब्ध गराउने योजना समेत सार्वजनिक गरेको छ । यस योजनाबाट कृषकलाई आधुनिक कृषि उपकरण खरिदमा थप सहजता हुने कम्पनीको विश्वास छ । नेपालको कृषि क्षेत्रमा अझै पनि परम्परागत प्रविधिको प्रभाव रहेको उल्लेख गर्दै सञ्चालक साहले कृषिलाई व्यवसायिक र प्रविधिमैत्री बनाउन आधुनिक उपकरणको प्रयोग अपरिहार्य भएको बताए ।
विशेषगरी मधेश प्रदेशका कृषकलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुर्याउने उद्देश्यले आफूले यो पहल गरेको उनले स्पष्ट पारे । उद्घाटन कार्यक्रममा वीरगंजका सञ्चारकर्मी, बारा–पर्साका कृषक, कृषि सामग्री व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको विस्तारका लागि यस्ता व्यवसायिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित सञ्चालनमा आएको नेक्सस ट्रेडर्सले मधेश प्रदेशका कृषकलाई आधुनिक कृषि यन्त्रको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस् !