वीरगंज (पर्सा), २३ जेठ । मधेश प्रदेश प्रहरी संगठनभित्र नेतृत्व र फिल्ड कमाण्डबीचको तनाव झन् चर्किंदै गएको संकेत देखिएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग मतभेद बढेको चर्चा भइरहेका बेला रौतहट र बाराका जिल्ला प्रहरी प्रमुखलाई एकैपटक स्पष्टीकरण सोधिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरसँग कार्यसम्पादन तथा प्रशासनिक विषयमा स्पष्टीकरण मागेको हो ।
यसअघि यस्तै विवाद र स्पष्टीकरण प्रकरणपछि सप्तरीका तत्कालीन एसपी गौतमकुमार केसी र धनुषाका तत्कालीन एसपी रुगम बहादुर कुँवरले स्वेच्छिक सरुवा मागेर जिल्ला छाडिसकेका छन् । प्रहरी स्रोतका अनुसार गत बिहीबार दुवै एसपीलाई स्पष्टीकरण पत्र पठाइएको थियो । बाराका एसपी नरेन्द्र कुँवरले आफूले स्पष्टीकरण प्राप्त गरेको स्वीकार गर्दै आवश्यक जवाफ पठाइसकेको बताए । यद्यपि, स्पष्टीकरणको विषयवस्तुबारे उनले खुलाउन चाहेनन् । ‘यो संगठनभित्रको आन्तरिक विषय हो, डीआईजी साबलाई कुनै काम चित्त नबुझेको हुन सक्छ,’ उनले भने ।
रौतहटका एसपी रिजालसँग प्रतिक्रिया लिन खोजिए पनि सम्पर्क हुन सकेन । स्रोतहरूका अनुसार पछिल्लो समय बारा र रौतहटमा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाइएको थियो । सीमावर्ती तथा संवेदनशील मानिएका यी जिल्लामा अवैध कारोबार नियन्त्रणका लागि जिल्ला प्रहरी सक्रिय भएपछि त्यसले संगठनभित्रै फरक प्रकारको असहजता सिर्जना गरेको दाबी गरिएको छ ।
नाम नखुलाउने सर्तमा एक वरिष्ठ प्रहरी अधिकृतले प्रदेश प्रहरी कार्यालयबाट खटिएका केही कर्मचारी तथा स्थानीय तहका प्रहरीबीच हुने भनिएको ‘लाइन मिलाउने’ गतिविधि र तस्करीसँग सम्बन्धित स्वार्थमाथि जिल्ला प्रहरी प्रमुखहरूले अंकुश लगाउन खोज्दा विवाद उत्पन्न भएको दाबी गरे । ‘प्रदेशबाट खटिएका केही कर्मचारीको भूमिकामाथि स्थानीय सञ्चारमाध्यममै प्रश्न उठिरहेको थियो । जिल्ला प्रहरी नेतृत्वले त्यस्ता गतिविधि रोक्न खोजेपछि माथिल्लो तहमा फरक ढंगले रिपोर्टिङ भएको हुन सक्छ,’ ती अधिकृतले बताए ।
बारामा पूर्वप्रहरी प्रमुख एसपी सन्तोष तामाङ हटाइएपछि गत मंसिर ५ गते मानव बेचबिखन अनुसन्धान ब्युरोबाट एसपी नरेन्द्र कुँवरलाई त्यहाँ पठाइएको थियो । उनी बारामा आएको करिब सात महिना पुगेको छ । यता, रौतहटका एसपी रिजालको कार्यकाल पनि पाँच महिनाको हाराहारीमा पुगेको छ । प्रहरी संगठनभित्रकै केही स्रोतहरूका अनुसार पछिल्लो समय प्रदेश प्रहरी नेतृत्वसँग असहमत हुने वा निर्देशनअनुसार काम नगर्ने कर्मचारीमाथि अनावश्यक दबाब बढाइएको गुनासो समेत सुनिन थालेको छ ।
यसअघि सप्तरीका गौतमकुमार केसी र धनुषाका रुगम बहादुर कुँवरले पनि यस्तै परिस्थितिका कारण सरुवा मागेको चर्चा प्रहरी वृत्तमा व्यापक छ । ती एसपीहरूले जिल्लामा प्रदेशदेखि प्रहरी प्रधान कार्यालयसम्मका ‘घुमुवा आतंक’ बढेका कारण प्रभावकारी रूपमा काम गर्न कठिन भएको गुनासो गरेको स्रोतको दाबी छ ।
यसैबीच, ‘सलामी दस्तुर’ तथा व्यापारीहरूसँगको आर्थिक लेनदेन प्रकरणमा डीआईजी थपलियाको नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरेको बताइएपनि त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । छानबिनको निष्कर्षबारे समेत कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । सोही प्रकरणसँग जोडिएका धनुषाका तत्कालीन एसपी रुगम बहादुर कुँवर भने सरुवा मागेर नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेत पुगेका छन् ।
डीआईजी थपलियासँग निकट मानिएका घुमुवा सईद्धय जयलाल यादव र गोपाल थापामगरलाई समेत प्रधान कार्यालय तानिसकिएको छ । धनुषा प्रहरीको अपराध अनुसन्धान शाखाका इन्चार्ज वरिष्ठ सई सागर राणा पनि हेडक्वार्टर बोलाइएका थिए । यता, मधेश प्रदेश प्रहरी कार्यालयले भने स्पष्टीकरण माग्नु संगठनभित्रको नियमित अनुगमन, मूल्यांकन र प्रशासनिक प्रक्रियाको हिस्सा भएको दाबी गर्दै आएको छ । तर, एकपछि अर्को गर्दै जिल्ला प्रहरी प्रमुखहरू सरुवा मागेर जाने र त्यसलगत्तै थप दुई संवेदनशील जिल्लाका एसपीलाई एकैसाथ स्पष्टीकरण सोधिने घटनाक्रमले मधेश प्रहरीभित्र नेतृत्व र फिल्ड कमाण्डबीचको सम्बन्ध गम्भीर विवादको केन्द्रमा पुगेको संकेत गरेको प्रहरी वृत्तमै चर्चा हुन थालेको छ ।









प्रतिक्रिया दिनुहोस् !