वीरगंज (पर्सा), २० जेठ । पर्साको वीरगंज महानगरपालिका-१५ भेडियाहीमा पुरानो जग्गा विवादलाई लिएर एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सामूहिक आक्रमण गरिएको आरोप लागेको छ । स्थानीय सुकदेव साह तुरहामाथि सोही क्षेत्रका केही व्यक्तिहरूले योजनाबद्ध रूपमा आक्रमण गरेको आरोप परिवारजन तथा आफन्तले लगाएका छन् । पीडित पक्षका अनुसार भिखारी साह सोनारका छोरा तथा आफन्तसहित करिब नौ जनाको समूहले सुकदेव साह तुरहालाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका हुन् ।
घटनामा देव कुमार सर्राफ, ओमराज सर्राफ र गोपाल साह सोनारको विशेष भूमिका रहेको दाबी गरिएको छ । उनीहरूले पूर्व तयारीका साथ आक्रमणको योजना बनाएको आरोप पीडित पक्षको छ । आक्रमणमा संलग्न रहेको आरोप लागेकामध्ये देव कुमार सर्राफ, ओमराज सर्राफ, धिरज सर्राफ, गोपाल साह सोनार, राजकुमार सर्राफ, सन्जय/सनोज कुमार सर्राफ, मनोज कुमार सर्राफ लगायत रहेका बताइएको छ । यद्यपि घटनाबारे प्रहरीबाट औपचारिक पुष्टि हुन बाँकी रहेको छ ।
स्थानीयवासीका अनुसार लामो समयदेखि चल्दै आएको जग्गासम्बन्धी विवादले पछिल्लो घटनालाई जन्म दिएको हुन सक्ने अनुमान गरिएको छ । पीडित सुकदेव साह तुरहाको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पीडित पक्षले सम्बन्धित निकायसँग माग गरेको छ । यता, प्रहरी प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनामा दुई पक्षका फरक दाबी, निष्पक्ष छानबिनको माग
घटनालाई लिएर दुई पक्षबीच परस्पर विरोधाभासी दाबी सार्वजनिक भएपछि घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष अनुसन्धानको माग उठेको छ । एक पक्षले स्थानीय सुकदेव साह तुरहामाथि पुरानो जग्गा विवादका कारण योजनाबद्ध रूपमा सामूहिक आक्रमण गरी ज्यान मार्ने प्रयास गरिएको आरोप लगाएको छ । पीडित पक्षका अनुसार सोही क्षेत्रका केही व्यक्तिहरूले पूर्व योजना बनाएर सुकदेवमाथि आक्रमण गरेका थिए, जसमा देव कुमार सर्राफ, ओमराज सर्राफ, गोपाल साह सोनारलगायतको संलग्नता रहेको दाबी गरिएको छ ।
पीडित पक्षले घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा व्याख्या गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । उनीहरूका अनुसार पुरानो जग्गासम्बन्धी विवादकै कारण घटना भएको हो र यसबारे निष्पक्ष छानबिन आवश्यक छ । तर घटनापछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सार्वजनिक भएका विवरणहरू एकपक्षीय रहेको भन्दै स्थानीयवासी तथा आरोपित पक्षले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरूले घटनालाई योजनाबद्ध आक्रमणका रूपमा चित्रण गरिएको दाबी अस्वीकार गर्दै वास्तविकता अनुसन्धानबाट मात्र बाहिर आउने बताएका छन् ।
स्थानीय स्रोतहरूका अनुसार घटनाको दिन सुकदेव साह तुरहाले मादक पदार्थ सेवन गरेका थिए । मेडिकल परीक्षण प्रतिवेदनमा समेत मादक पदार्थ सेवन गरेको उल्लेख रहेको दाबी गरिएको छ । उनीहरूका अनुसार मादक पदार्थ सेवनपछि तुरहा गाउँमा होहल्ला गर्दै गालीगलौज गरिरहेका थिए । स्थानीयहरूको भनाइअनुसार राति करिब ११ बजे तुरहा आफ्नो घरभन्दा करिब २०० मिटर टाढा रहेको गोपाल साह सोनारको घरअगाडि पुगेका थिए । त्यहाँ उनले घरधनीको नाम नै लिएर गालीगलौज गर्न थालेपछि गोपाल साहका छोरा सनोज सर्राफले सम्झाउने प्रयास गरेका थिए ।
आरोपित पक्ष तथा स्थानीयवासीका अनुसार त्यसक्रममा कुनै सामूहिक वा योजनाबद्ध आक्रमण नभएको र तुरहा आफैं असन्तुलित भई लड्दा नालामा खसेर टाउकोमा चोट लागेको हो । उक्त घटनालाई ज्यान मार्ने उद्देश्यले गरिएको सामूहिक हमलाका रूपमा प्रचार गरिएको दाबी उनीहरूको छ । घटनासँग जोडिएको भनिएको जग्गा विवादबारे पनि स्थानीयहरूले फरक दृष्टिकोण प्रस्तुत गरेका छन् । उनीहरूका अनुसार विवाद प्रत्यक्ष रूपमा सम्बन्धित पक्षहरूबीच नभई अन्य व्यक्तिहरूबीचको विषय हो, जसलाई घटनासँग जोडेर भ्रम सिर्जना गरिएको छ ।
यता, घटनामा संलग्न भएको आरोप लागेकाहरूले आफूमाथिका आरोपहरू पूर्ण रूपमा निराधार रहेको बताएका छन् । उनीहरूका अनुसार सामान्य विवादलाई राजनीतिक प्रभाव, व्यक्तिगत स्वार्थ तथा सामाजिक दबाबका कारण गम्भीर आपराधिक घटनाका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ । साथै, एक व्यक्तिसँगको विवादलाई आधार बनाएर परिवारका अन्य सदस्यहरूलाई समेत मुद्दामा तानेर सामाजिक रूपमा बदनाम गर्न खोजिएको आरोप उनीहरूको छ ।
घटनाबारे प्रहरी प्रशासनबाट औपचारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन । त्यसैले दुवै पक्षका दाबी–प्रत्यादाबीबीच सत्य तथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ । स्थानीयवासीहरूले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना वा एकपक्षीय दाबीका आधारमा निष्कर्षमा नपुग्न आग्रह गर्दै कानुनी प्रक्रियामार्फत वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस् !