वीरगंज (पर्सा), २६ वैशाख । पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत बढनियार क्षेत्रमा दोस्रो सातासमेत ‘घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न भएको छ । प्रभु हस्पिटल को सहकार्य तथा जुनतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा २५० स्थानीय नागरिकले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
आयोजकका अनुसार कार्यक्रममा १९० महिला र ६० पुरुष गरी कुल २५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै सुगर किटमार्फत मधुमेह परीक्षण, आवश्यक परामर्श तथा निशुल्क औषधि वितरणसमेत गरिएको जनाइएको छ । आर्थिक रूपमा कमजोर, स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका तथा अस्पतालसम्म पुग्न असमर्थ बिरामीलाई घरदैलोमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रभु हस्पिटलले जनाएको छ ।
स्थानीय बलिराम शुक्लाको समन्वय तथा जुनतारा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभु हस्पिटलकी स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । त्यस्तै वरिष्ठ फिजिसियन डा. रवि रञ्जन साह को विशेष उपस्थितिमा बिरामीहरूको स्वास्थ्य परीक्षण र परामर्श गरिएको थियो ।
कार्यक्रममा बोल्दै डा. लक्ष्मी थापाले प्रभु हस्पिटलले आगामी दिनमा पनि दुर्गम तथा पिछडिएका क्षेत्रमा पुगेर घरदैलो स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने योजना रहेको जानकारी दिइन् । उनले विशेषगरी दीर्घरोगी, जेष्ठ नागरिक तथा महिलासम्बन्धी जटिल स्वास्थ्य समस्याबाट पीडित बिरामीलाई थप सहयोग गरिने बताइन् ।
कार्यक्रमका प्रमुख दिलीप राज कार्कीले अस्पताल केवल व्यवसायिक केन्द्र मात्र नभई सेवामुखी संस्था हुनुपर्ने धारणा राख्दै जनताको स्वास्थ्य सेवामा हातेमालो गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशेष पहलकर्ता पत्रकार तथा सामाजिक अभियन्ता बलिराम शुक्लाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहकार्य गरिने बताए । त्यसैगरी सहकारी संस्थाकी अध्यक्ष मञ्जु क्षेत्रीले सामाजिक स्वास्थ्य सेवामा निरन्तर सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।









प्रतिक्रिया दिनुहोस् !