वीरगंज (पर्सा), २४ वैशाख । वीरगंज महानगरपालिकामा सञ्चालन गरिएको शहर केन्द्रित पाठेघर मुखको सर्भाइकल क्यान्सर परीक्षण शिविरमा महिलामा पाठेघरसम्बन्धी संक्रमण दर उच्च देखिएको छ ।
बैशाख ११ गतेदेखि २३ गतेसम्म महानगरका ७ वटा स्थानमा सञ्चालन गरिएको शिविरमा एक हजारभन्दा बढी महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । परीक्षणमा संलग्न चिकित्सक डा. स्वेता सिंहका अनुसार सयमा ६० प्रतिशतभन्दा बढी महिलामा विभिन्न प्रकारका संक्रमण देखिएको छ ।
केही शिविरमा त परीक्षण गरिएका महिलामध्ये ९० प्रतिशतसम्ममा संक्रमण भेटिएको उनले जानकारी दिइन् । स्वास्थ्यकर्मीका अनुसार महिलाहरु लाजका कारण समयमै परीक्षणका लागि नआउँदा संक्रमण जटिल बन्दै गएको छ ।
वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अनुसार महिलाको आङ खस्ने समस्या, पाठेघर मुखको क्यान्सर, अब्ष्टेट्रिक फिस्टुला तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या लक्षित गरी शिविर सञ्चालन गरिएको हो । 







प्रतिक्रिया दिनुहोस् !