वीरगंज (पर्सा), ७ वैशाख । वीरगंजको मुख्य सडक (मेनरोड) विस्तार अभियान अन्तर्गत आइतबार बिहानैदेखि डोजर परिचालन गरी गण्डक चोकदेखि मितेरी पुलसम्मका अतिक्रमित घर तथा पसल हटाउने कार्य सुरु गरिएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने यस खण्डलाई २५/२५ मिटर मापदण्डअनुसार फराकिलो बनाउने लक्ष्यसहित प्रशासन अघि बढेपछि मिश्रित प्रतिक्रिया देखिएको छ ।
केही स्थानीयले दीर्घकालीन विकासका लागि यस्तो कदम आवश्यक भएको स्वीकारेका छन् भने अन्यले भने पर्याप्त समय नदिई हतारमा संरचना हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । आदर्शनगरकी नूतन सरावगीले अदालतको निर्णयअनुसार सडक विस्तार हुनु सकारात्मक भएपनि कार्यान्वयनको तरिका पीडादायी रहेको बताइन् । ‘हामी विकासका विरोधी होइनौँ, तर कम्तीमा १०–१५ दिनको समय दिएको भए घर, पसल र परिवार व्यवस्थापन गर्न सहज हुन्थ्यो,’ उनले भनिन् । उनका अनुसार अहिले धेरै परिवार पानी, बिजुली र सुरक्षित बसोबासबाट समेत वञ्चित भएका छन्, जसले बिरामी, वृद्ध र नवजात शिशु भएका परिवारलाई झन् समस्यामा पारेको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्रका संरचना हटाउने काम भइरहेको जनाएको छ । मितेरी पुलदेखि गण्डक नहर चोकसम्म डोजर, जेसीबी र एक्स्काभेटर प्रयोग गरी तोडफोड गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा हस्ताक्षरित सूचना शनिबार मात्रै जारी गरिएको थियो ।
अधिकारीहरूले वीरगंजमा बढ्दो ट्राफिक जाम, साँघुरो सडक र अव्यवस्थित संरचनालाई व्यवस्थित बनाउन यो अभियान अपरिहार्य रहेको बताएका छन् । तर, साना व्यवसायीहरू भने प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । समिमा खातुनले केही महिनाअघि मात्रै ठूलो लगानीमा सुरु गरेको जुत्ता–चप्पल पसल गुमाउनुपरेको बताउँदै ‘सामान मिलाउन एक दिन पनि समय नपाएर घाटामा बेच्नुपरेको छ,’ भनिन् ।
त्यस्तै, व्यवसायी सुशील शर्माले महँगोमा खरिद गरिएका कपडा सस्तोमा बेच्न बाध्य भएको गुनासो गरे । ‘राखेर फाइदा छैन, बेचेर गुजारा चलाउनुपर्ने अवस्था छ,’ उनले भने । सडक विस्तारप्रति उनीहरू सहमत भए पनि तयारीको समय नदिइएकोप्रति असन्तुष्टि रहेको देखिन्छ । यो योजना वर्षौँदेखि अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको थियो । सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि विस्तारको बाटो खुलेको हो । यसअघि पनि पटक–पटक सूचना जारी भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
तोडफोडको क्रममा धेरैले घर तथा पसलभित्रका सामान निकाल्न नपाउँदा ठूलो क्षति बेहोर्नुपरेको स्थानीयहरू बताउँछन् । साथै, विद्युत् लाइन अवरुद्ध हुँदा गर्मीमा सर्वसाधारण थप समस्यामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले वैशाख ६ देखि ८ गतेसम्म विद्युत् सेवा प्रभावित हुन सक्ने जनाएको छ । केही क्षेत्रमा सेवा पुनः सञ्चालन भए पनि पूर्ण रूपमा नियमित हुन समय लाग्ने बताइएको छ ।
यता, केही स्थानीयले भने सडक विस्तारलाई भविष्यसँग जोडेर समर्थन जनाएका छन् । चन्दन यादवले ‘अहिले केही क्षति भएपनि दीर्घकालमा वीरगंज सुन्दर र व्यवस्थित बन्नेछ,’ भने । त्यस्तै, चन्देशर चौरसियाले पनि विकासका लागि यस्तो कदम सही भएपनि व्यवस्थापनका लागि समय दिनुपर्ने बताए ।
वीरगंज महानगरपालिकाका अनुसार हालसम्म करिब १ हजार २ सय अतिक्रमित संरचना हटाइसकिएको छ । यस क्षेत्रमा २९ सरकारी भवन र झण्डै १ हजार २ सय निजी घर परेका छन् । वर्षौँपछि सुरु भएको सडक विस्तारले सहर विकासको आशा जगाएको भएपनि प्रभावित नागरिकको पुनर्स्थापना, मुआब्जा र रोजगारी गुमेका श्रमिकहरूको व्यवस्थापन जस्ता विषयले गम्भीर बहस जन्माएको छ ।







प्रतिक्रिया दिनुहोस् !