वीरगंज (पर्सा), २६ चैत । भारतको हरिद्वार बाट नेपालतर्फ गइरहेको ‘नेपाल–भारत मैत्री सेवा’ बस बुधबार बिहान करिब २ बजे गदरपुर नजिक दुर्घटनामा परेको छ । गोपाल नगर टी–जंक्सन आसपास बस अनियन्त्रित भई सडकबाट तल खेतमा खस्दा पल्टिएको हो । युके १००५३ नम्बरको उक्त बसमा चालकसहित ६५ जना सवार थिए, जसमा अधिकांश यात्रु नेपालको दाङ जिल्लाका रहेको प्रारम्भिक विवरणले देखाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा वर्षा भइरहेको थियो भने चालकलाई निद्रा लागेको हुनसक्ने अनुमान गरिएको छ । बस पल्टिएपछि यात्रुहरूबीच अफरातफरी मच्चिएको थियो र धेरैजना भित्रै अड्किएका थिए । गदरपुर कोतवालीका प्रहरी प्रमुख सञ्जय पाठकका अनुसार सूचना प्राप्त हुनेबित्तिकै प्रहरी टोलीसँगै आपतकालीन सेवा (११२ र १०८ एम्बुलेन्स) घटनास्थलमा पुगेको थियो । स्थानीयवासीको सहयोगमा बसका सिसा फुटाएर भित्र फसेका यात्रुहरूको उद्धार गरिएको थियो ।
दुर्घटनामा परी ९ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये एक महिनाकी बालिका नव्या पनि परेकी छन् । गम्भीर घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक भएपछि उनीहरूलाई थप उपचारका लागि रुद्रपुर स्थित ठूला अस्पतालमा पठाइएको छ, र दुवै नेपाली नागरिक हुन् । अन्य घाइतेहरूको उपचार स्थानीय अस्पतालमै भइरहेको छ ।
दुर्घटनापछि बाँकी यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बस कम्पनीलाई जानकारी गराइसकिएको छ भने यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक बसको व्यवस्था गरिँदैछ । सडक अवरुद्ध हुन नदिन राजमार्ग अधिकारीहरूले क्रेन प्रयोग गरी दुर्घटनाग्रस्त बस हटाएका छन् र हाल यातायात सुचारु रहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !