वीरगंज (पर्सा), २५ चैत । बाराको जितपुर सिमरा उपमहानगरपालिका – ३ स्थित रामवन झाडीबाट वीरगंज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदी विगत तीन दशक अघिदेखि प्रदूषणको शिकार बनेको छ । सिमरा स्थित रामवन झाडीमा यसको मुहान छ । परवानीपुरको दक्षिणमा कियासुत नदी यसमा मिसिन्छ । वौद्यी खोला यसमै विलय हुन्छ । तर, वीरगंज नपुग्दै यो नदी औद्योगिक प्रदूषणको चपेटामा पर्छ र प्रदूषणयुक्त पानी बग्ने सुरु हुन्छ । बारा, पर्सा क्षेत्रमा उद्योग–कारखाना बाक्लिएसँगै सिर्सिया प्रदूषित हुँदै गएको हो ।
यस क्षेत्रमा साना, मझौला र ठूला गरि करिब २५ सयको हाराहारीमा उद्योगहरु छन् । प्रायः सबैले उत्सर्जित ठोस वा तरल फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान दिएका छैनन् । कतिपयले खुलेआम त कतिपयले नदेखिने गरि भूमिगत नालाबाट सिर्सिया नदीमा फोहोर पानी मिसाउने गरेका छन् । नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदिना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगंज महानगर क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।
खास गरि छाला उद्योगहरुबाट छालाका टुक्रा, ‘रौ’ का टुक्रा र फोहरयुक्त पानी सिधै नदीमा मिसाउने गरिएको छ । त्यस्तै सिमेन्ट उद्योग, साबुन उद्योगहरुले आफ्नो छाईहरु नदी किनारमै भण्डारण गर्ने गरेको छ । पानीको बहाव बढेपछि त्यो छाई नदीको पानीमा मिसिन्छ । हावा चल्दा त्यस क्षेत्रको मानव वस्तीमा प्रत्यक्ष असर पार्छ । हावा चल्दा उडेको छाईले स्वाँस प्रस्वाँसमा गम्भिर असर पार्छ । जगरनाथपुर स्थित नदी छेउमा टनै टन छाईहरु थुपारिएको छ, त्यसबाट नदीको पानी प्रदूषण भई जलचर मरि सके ।
जुन पानीबाट छालाको रोग निको हुन्थ्यो आज त्यही पानीबाट क्यान्सर र मुटु रोगहरु हुने गरेको छ । नेपालको संविधानमा स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने र प्राकृत्तिक सम्पदा विगार्नेलाई १० वर्षसम्म कैदको पनि सजाय हुँदाहुँदै यसरी खुलेयाम सिर्सिया नदीलाई प्रदूषण गर्नेहरुलाई कसैले कारवाही गर्न सकेको छैन । फोहर पानी गन्हाउने समस्याले पनि नदी छेउछाउँमा बस्ने सर्वसाधारणहरुले नाक थुनेर बस्नुपर्ने बाध्यता छ । यस क्षेत्रकै मान्छेहरु बढि क्यान्सरबाट पीडित रहेको भरतपुर क्यान्सर अस्पतालको तथ्याँकले पनि देखाउँछ र यसको मुख्य कारण नै यहाँका उद्योगहरुबाट निस्कने फोहर हो, जसबाट सर्वसाधारणहरु क्यान्सरको सिकार बन्ने गरेका छन् ।
बाराको सिमरादेखि पश्चिममा पर्ने रामवनमा रहेको जंगलमा मुल रहेको सिर्सिया नदीलाई दुषित बनाउनेमा बारा, पर्साको औद्योगिक करिडोरमा रहेका साना ठूला गरि ४६ उद्योगहरु छन् । ती उद्योगहरुबाट उत्सर्जित हुने प्रदुषित रसायनयुक्त पानी र फोहोर पदार्थ प्रशोधन नगरि सिधै नदीमै उत्सर्जन हुँदै आएको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो ।
अभियन्ताको ७ वर्षदेखिको संघर्ष पनि असफल
सिर्सिया नदीको सफाईको लागि सामाजिक अभियन्ताले दबाब पनि दिएका छन्, तर समस्या ज्यूँका त्यूँ छ । सिर्सिया नदीको फोहरयुक्त पानीबाट यस क्षेत्रका अधिकांश नागरिहरु क्यान्सरको शिकार भएकोले यसलाई रोक्न अधिवक्ता सुरेन्द्र कुर्मीको नेतृत्वमा गठित संघर्ष समितिले विगत ७ वर्षदेखि संघर्ष गर्दै आएको छ तर त्यो संघर्षको पनि कुनै परिणाम आउन सकेको छैन । उद्योगी व्यापारीहरुले गर्दै आएको मनोमानीको कारण र वीरगंज महानगरपालिकाको लाचारीपनको कारण पनि त्यो ७ वर्षको संघर्षले कुनै नतिजा दिन सकेन ।
अधिवक्ता सहितको टोलीले सिर्सिया नदी सरसफाईको लागि संघर्ष मात्रै गरेनन्, अदालतमा मुद्दा समेत दिए, रोडमा धर्ना समेत बसे, घण्टाघरमा धर्ना बसे तर त्यो सबै संघर्षमा मात्रै सीमित छ । अधिवक्ता कुर्मीले स्वच्छताको लागि विगत ६ वर्ष पहिला ९ वटा उद्योग र वीरगंज महानगरपालिका विरुद्ध अदालतमा मुद्दा हालका थिए तर त्यसको प्रतिउतरमा सम्पूर्ण उद्योगहरुले आफूहरुसँग वाटर ट्रिटमेन्ट प्लान्ट रहेको भन्दै जवाफ दिएको थियो र अदालतले हकदैयाको अभावमा अदालतले आफ्नो मुद्दा खारेज गरिएको थियो ।
प्रतिवेदनको १५ वर्षमा पनि कारवाही भएन
सिर्सिया नदी अनुगमन समितिले नदी प्रदुषित बनाउने दोषीहरुको किटान गरि स्थानीय प्रशासनलाई प्रतिवेदन बुझाएको १५ वर्ष वितिसक्दा पनि कारवाही प्रक्रिया अगाडि बढ्न सकेको छैन । सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारण उद्योगहरु नै रहेको उल्लेख थियो । प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।
महानगरको प्रयास असफल
सिर्सिया नदी सरसफाईमा वीरगंज महानगरपालिकामा दोश्रो पटक निर्वाचित राजेशमान सिंह निर्वाचित भएलगत्तै खरो रुपमा उत्रिएका थिए तर त्यो पनि समयसगै सेलायो । मेयर सिंह निर्वाचित भएदेखि महानगरको सरसफाईलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यभार सम्हालेको कारण पनि सिर्सिया नदी सरसफाईमा महानगर खरो रुपमा उत्रिएको थियो । तर त्यो देखावटी मात्रै भयो । सिर्सिया नदी प्रदूषणबारे गुनासाहरु उठ्न थालेपछि महानगरको टोलीले सिर्सिया नदीदेखि त्यसमा फोहर फाल्ने उद्योगहरुको अनुगमन कार्यलाई केही दिन तिब्रता दिएको छ । 
सो क्रममा केही उद्योगहरुलाई कारवाही पनि गरिएको थियो तर त्यसबाट पनि सरसफाई अभियान सफल हुन सकेन । मेयर सिंहले पहिलो पटकमा फोहर फाल्ने उद्योगहरुलाई फोहर नफाल्न चेतावनी दिएका थिए । त्यस पश्चात नमानेपछि कारवाही स्वरुप २०७९ फागुन १६ गते सिर्सिया नदीमा उद्योगको छाई फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना गरेका थिए । त्यस पश्चात महानगरको टोलीले श्री निधी टेक्सटाइल्स प्रा.लि., ब्रिटानीय नेपाल प्रा.लि., शक्ति दाल मिल र शक्ति वायर उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइएको थियो ।
उक्त उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएको थियो । उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट समेत नराखेको र फोहोर पानी नदीमा फाल्दै आएको पाएको थियो । महानगरपालिकाले ति उद्योगहरुलाई वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न निर्देशन दिदै फोहर पानी नदीमा नमिसाउन चेतावनी समेत दियो । यतिले पनि उद्योगहरु नमानेपछि महानगरपालिकाले ५ वटा उद्योगलाई जरिवाना समेत गर्यो तर त्यसको परिणाम शुन्य रह्यो । उद्योगहरुले नदीमा फोहर फाल्ने कार्य अझैपनि रोकेका छैनन् । अहिले पनि सिर्सिया नदीको पानी कालै बगि रहेको छ । महानगरपालिका यसरी खरो रुपमा उत्रिदा पनि उद्योगीहरुले अटेरी गर्दै आएका छन् ।
आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्दै आई रहेका छन् । महानगरपालिका आफै स्थानीय सरकार हो, उसले आफ्नो मातहतको समस्यालाई आफै समाधान गर्न सक्नुपर्छ तर उद्योगीहरुको पकड यति ठूलो भई सक्या छ कि महानगरपालिकाको निर्देशनलाई ठाडै उल्लंघन गर्दै आई रहेका छन् । उद्योगीहरुको मनसायभई सक्या छ ‘महानगरपालिका कराई रहन्छ, हामी फोहर फालि रहन्छौं, चेतावनी दिई रहन्छ, हामी सुन्दै गर्छौ’ तर त्यसको पालना गर्दैनौं । विगत ३० वर्ष अघिदेखि जडा गाडेको समस्यालाई समाधान गर्न अर्थात सिर्सिया नदीलाई सफाई गर्न महानगरपालिकालाई ठूलै चुनौति देखिएको छ ।
प्रदुषण रोक्न प्रधानमन्त्रीलाई आग्रह
वीरगंज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि प्रयास गर्दागर्दै असफल रहेको अवस्थामा यही २०८२ फागुन २१ गते निर्वाचमा निर्वाचित भएका पर्सा क्षेत्र नं. १ र २ का सांसदद्वय हरि पन्त र सुशिल साह कानु प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ध्यानाकर्षण गराएका छन् । वीरगंजको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि स्थानीय निकायबाट पार नलागेपछि सांसदद्वयले प्रधानमन्त्रीलाई गुहारेका हुन् । सांसदद्वयको गुनासोलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री बालेन शाहले समस्या समाधानको लागि पहल गरिदिन सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस् !