गौर (रौतहट), १ चैत । रौतहटको सदरमुकाम गौरस्थित बसपार्क प्रहरी चौकीका इन्चार्जमाथि प्रहरी मर्यादाविपरीत व्यवहार गरेको आरोप लागेपछि विवाद चुलिएको छ । एक विवाह समारोहका क्रममा भारतबाट बोलाइएका नर्तकीहरूसँग आपत्तिजनक ढंगले रमाइलो गरिरहेको तस्वीर र भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनको छवि र आचरणमाथि गम्भीर प्रश्न उठेको हो ।
गौर–गढवा क्षेत्रमा रहेको बसपार्क नजिकैको कृष्णा इन होटलमा गत बुधबार आयोजित विवाह समारोहमा यस्तो घटना भएको बताइएको छ । समारोहमा सहभागी भएका बसपार्कस्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज विनोद यादव नर्तकीसँग अत्यन्तै असंयमित व्यवहार गरेको देखिने तस्वीर र भिडियो बाहिरिएका छन् ।
सार्वजनिक भएका तस्वीरमा यादवले नेपाल प्रहरीको लोगो अंकित पोशाक लगाएकै अवस्थामा अर्धनग्न नर्तकीलाई काँखमा राखेर बसिरहेको र चुरोट तानिरहेको दृश्य देखिन्छ । त्यस्तै अर्को भिडियोमा पनि उनी अर्की नर्तकीसँग आपत्तिजनक ढंगले व्यवहार गरिरहेको देखिएको बताइएको छ । यस घटनाले नेपाल प्रहरीको मूलमन्त्र ‘सत्य, सेवा, सुरक्षण’ माथि नै प्रश्न उठाएको भन्दै स्थानीय स्तरमा तीव्र आलोचना भइरहेको छ ।
स्थानीयवासीका अनुसार धार्मिक तथा सामाजिक कार्यक्रम गर्न पनि प्रशासनको अनुमति आवश्यक पर्ने अवस्थामा गौरजस्तो संवेदनशील क्षेत्रमा होटलमै विदेशी नर्तकी झिकाएर कार्यक्रम सञ्चालन हुनु र त्यसमा प्रहरीकै संलग्नता देखिनु गम्भीर विषय भएको बताएका छन् । घटनाको भिडियो उपलब्ध गराउने स्रोतका अनुसार स्थानीय प्रशासनको जानकारीबिनै यस्ता कार्यक्रम सञ्चालन हुनु सम्भव नभएपनि प्रहरीकै संरक्षणमा कार्यक्रम भएको जस्तो देखिनुले थप शंका जन्माएको छ ।
घटनाबारे बुझ्न कृष्णा इन होटलमा सम्पर्क गर्दा होटलका एक कर्मचारीले आफू नयाँ भएको भन्दै कार्यक्रमबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यता जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप वस्यालले घटनाबारे जानकारी प्राप्त भइसकेको बताएका छन् । उनका अनुसार विवादमा तानिएका असईलाई बसपार्कबाट हटाउने प्रक्रिया सुरु गरिएको र घटनाबारे विस्तृत अनुसन्धान गरी आवश्यक कारबाही गरिनेछ ।
घटनापछि प्रहरी आचरण र अनुशासनबारे पुनः बहस सुरु भएको छ । स्थानीयहरूले यस्तो व्यवहारले सुरक्षाकर्मीप्रतिको विश्वास कमजोर पार्ने भन्दै पारदर्शी छानबिन र कडा कारबाहीको माग गरेका छन् ।








प्रतिक्रिया दिनुहोस् !