वीरगंज (पर्सा), १ चैत । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढाएको जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिअनुसार हालको परिस्थितिमा आपूर्ति व्यवस्थापन कायम राख्न बाध्य भएर मूल्य समायोजन गरिएको हो ।
निगमका अनुसार पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावले विश्व बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । यसका कारण खाना पकाउने ग्यासदेखि पेट्रोलियम पदार्थको खरिद मूल्य उच्च भएपछि नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार पेट्रोल, डिजेल तथा एलपी ग्यासको खरिद मूल्य उल्लेख्य रूपमा बढेको छ । सोही आधारमा पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरिएको छ ।
मूल्य समायोजनपछि देशभर लागू हुने खुद्रा बिक्री मूल्य पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १६७ रुपैयाँ तथा तेस्रो वर्गः प्रतिलिटर १६८ रुपैयाँ रहेको छ । यसैगरि डिजेल/मट्टितेल पहिलो वर्गः प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १५१ रुपैयाँ तथा तेस्रो वर्गः प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ ।
निगमका अनुसार एलपी ग्यासको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिका कारण ग्यासमा समेत प्रतिग्यास सिलिन्डर करिब २१६ रुपैयाँ बढेको उल्लेख गरिएको छ । निगमले उपभोक्तामाथि पर्ने भारलाई सकेसम्म कम गर्न मूल्य स्थिरीकरण कोषबाट समेत केही रकम प्रयोग गरिएको जनाएको छ । तर पनि खरिद मूल्य अत्यधिक बढेकाले पूर्ण रूपमा मूल्य स्थिर राख्न सम्भव नभएको बताइएको छ ।
यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण निगमले ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गर्दै निगमले गत आर्थिक वर्षमै करिब ३ अर्ब २३ करोड रुपैयाँ घाटा व्यहोरेको जानकारी दिएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै उपभोक्तालाई राहत दिनेगरी पुनः मूल्य समायोजन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !