वीरगंज (पर्सा), ९ फागुन । उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग)ले शनिबार पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १३ को राधेमाई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीयवासी, युवा र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
कार्यक्रमका क्रममा स्थानीयले उम्मेदवार सिंहलाई फूलमाला लगाएर भव्य स्वागत एवं सम्मान गरेका थिए । भेटघाटका क्रममा स्थानीयवासीहरूले विगतमा विभिन्न पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीमा आश्वासन मात्र दिएर व्यवहारमा ठोस काम नगरेको गुनासो व्यक्त गरे । स्थानीय युवाहरूले यसपालि चुनाव नजिकिँदा मात्र वाचा गर्ने र जितिसकेपछि बेवास्ता गर्ने नेताहरूलाई बहिष्कार गर्ने र सक्षम उम्मेदवारलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको काम गर्ने शैली र प्रतिबद्धतालाई उल्लेख गर्दै उम्मेदवार सिंहप्रति आफ्नो समर्थन स्पष्ट पारे ।
उम्मेदवार सिंहले स्थानीयवासीका समस्यालाई निर्वाचित भएपछि प्राथमिकताका साथ समाधान गर्ने प्रतिवद्धता जनाए । उनले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य सेवा र रोजगारीलाई पहिलो प्राथमिकता दिने बताए। साथै, स्थानीय कलकारखानामा स्थानीय र सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिइने योजनाको पनि उनले जानकारी गराए ।
सिंहले वीरगंज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्याएर क्षेत्रका विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने बताए । उनले स्थानीयस्तरमै विकासका काम अघि बढाउन र जनताको जीवनस्तर सुधार्न प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई आगामी निर्वाचनमा विजय हासिल गर्न अग्रिम शुभकामना दिएका थिए । घरदैलो कार्यक्रम उत्साहजनक रहँदै, स्थानीय समुदायमा उम्मेदवारप्रति सकारात्मक भावना र सहयोग बढिरहेको स्पष्ट देखियो । 









प्रतिक्रिया दिनुहोस् !