वीरगंज (पर्सा), ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा सोमबार घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । घरदैलो र त्यसपछिको पार्टी प्रवेश कार्यक्रमले उक्त क्षेत्रमा रास्वपाप्रति बढ्दो आकर्षण संकेत गरेको स्थानीयहरूको भनाइ छ ।
घरदैलोका क्रममा कानुले दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुदृढीकरण, शिक्षामा सहज पहुँच र स्थायी रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार बनेमा जनताको जीवनस्तर उकास्ने ठोस कार्यक्रम कार्यान्वयन गरिने उनको दाबी थियो ।
उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्दै हालै सार्वजनिक गरिएको ‘जनतासँगको करार पत्र’ अनुसार निर्वाचित भएको पाँच वर्षसम्म निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । ‘जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो,’ कानुले भने । उनले समावेशी विकास र सामाजिक न्यायप्रति पार्टीको दृढ अडान दोहोर्याउँदै सबै वर्ग, समुदाय र क्षेत्रको हकहित सुरक्षित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले बेरोजगारी, शिक्षा–स्वास्थ्य सेवाको पहुँच र कृषिमा देखिएको समस्या उठाएका थिए । कानुले ती मुद्दालाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने आश्वासन दिएका छन् । उनका अनुसार युवालाई सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धनमार्फत स्वरोजगार बनाउने योजना अघि सारिनेछ ।
घरदैलो कार्यक्रमपछि आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा भने उल्लेख्य राजनीतिक हलचल देखियो । विभिन्न दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेका छन् । नेकपा (एमाले) का दलित नेता शिसम् महारा सहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायतका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गरेका थिए ।
नवप्रवेशीहरूले परम्परागत दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक संस्कार र पारदर्शी नेतृत्वको खोजीमा रास्वपा रोजेको बताएका छन् । उनीहरूले घण्टी छापमा मतदान गरी रास्वपालाई विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बगही र इनरवा टोलमा भएको व्यापक पार्टी प्रवेशलाई स्थानीय विश्लेषकहरूले रास्वपाको संगठन विस्तार र जनाधार मजबुत बन्दै गएको संकेतका रूपमा लिएका छन् । प्रत्यक्ष संवाद, स्पष्ट एजेन्डा र नयाँ राजनीतिक संस्कारको सन्देशले कानुको अभियान थप प्रभावकारी बन्दै गएको समर्थकहरूको दाबी छ ।
पर्सा–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा रास्वपाको सक्रियता र संगठन विस्तारले राजनीतिक समीकरणमा नयाँ ऊर्जा थपिएको देखिन्छ । अब मतदाताको निर्णयले यस अभियानलाई कत्तिको समर्थन मिल्छ भन्ने टुंगो लगाउनेछ ।








प्रतिक्रिया दिनुहोस् !