वीरगंज (पर्सा), २ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो अभियान तीव्र पार्दै वीरगंज महानगरपालिका वडा नम्बर–२५ का मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
घरदैलोका क्रममा टेमानीले स्थानीयवासीको समस्या, आवश्यकता र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए । उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा पहुँच अभावले ग्रामीण क्षेत्रका बासिन्दा अझै समस्या भोग्न बाध्य भएको भन्दै ती समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय कृषकहरूले मल, बीउ र सिँचाइ सुविधा नपाउँदा उत्पादन घटेको, स्वास्थ्य सेवा पहुँच कमजोर रहेको र विद्यालयमा पूर्वाधारको कमी भएको गुनासो गरेका थिए । टेमानीले यी समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने बताए ।
यसैक्रममा वडा नं. २५ का करिब १५० जना युवाहरू जनता समाजवादी पार्टी मा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवारले युवाको सक्रिय सहभागिताले पार्टी र अभियानलाई ऊर्जा दिएको उल्लेख गरे ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले आफ्ना समस्या सुन्न उम्मेदवार आएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए । टेमानीले आगामी दिनमा पनि क्षेत्रका विभिन्न वडामा प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 








प्रतिक्रिया दिनुहोस् !