वीरगंज (पर्सा), २९ माघ । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जिराभवानी गाउँपालिकाको परसवा टोल र वडा नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो अभियान सञ्चालन गरेका छन् । अभियानका क्रममा उनले घरघर पुगेर मतदातासँग भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका थिए ।
मतदातासँग संवाद गर्दै रिजालले क्षेत्रको समग्र विकास, सुशासन र जनअधिकारको सुनिश्चितताका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको धारणा राखे । उनले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्र सुदृढीकरण र समावेशी विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने, ‘समृद्ध क्षेत्र निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्छौं ।’ उनले मतदातालाई कांग्रेसको पक्षमा मतदान गर्न आग्रहसमेत गरे ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले रिजालप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै विकास र परिवर्तनका लागि यसपटक कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस् !