वीरगंज (पर्सा), ६ कात्तिक । ट्रिभिया डिजिटल स्कूप प्रा. लि. को चौथो वार्षिकोत्सव शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ । कम्पनीका सञ्चालक अंकित चौरसियाको अध्यक्षता तथा प्याब्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले ट्रिभिया डिजिटल स्कूप प्रा. लि. ले छोटो समयमै आफ्ना सेवा विस्तार गर्दै सेवाग्राहीमाझ पहिचान बनाउन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले बदलिँदो प्रविधिको युगमा डिजिटल सेवाको महत्त्व बढ्दै गइरहेको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर, प्रभावकारिता र सेवाग्राहीमैत्री कार्यशैलीलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादव, प्रकाश डान्स स्टुडियोका सञ्चालक प्रकाश कर्ण, लायन्स क्लब अफ वीरगंज परिवारका पूर्वअध्यक्ष नरोत्तम पाण्डेय, नवीन कार्की तथा इजी ईट्सका सहसंस्थापक निरज पटेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, पत्रकार जगत राई र डा. आमिर आलमलगायतले संस्थाको प्रगति, डिजिटल क्षेत्रका सम्भावना तथा आगामी कार्ययोजनाबारे आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । वक्ताहरूले प्रविधिको उचित प्रयोगमार्फत सेवा विस्तार गर्दै संस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्नो यात्रामा योगदान पुर्याउने सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मानसमेत गरेको थियो । कार्यक्रममा संस्थाका उपलब्धि, आगामी योजना तथा डिजिटल सेवाको बदलिँदो स्वरूपबारे चर्चा गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा कम्पनीका सञ्चालक अंकित चौरसियाले संस्थाको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सेवाग्राही, शुभेच्छुक, सहयोगी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे ।
उनले आगामी दिनमा पनि गुणस्तरीय र प्रभावकारी डिजिटल सेवा प्रदान गर्दै संस्थाको कार्यक्षेत्र विस्तार गर्न प्रतिबद्ध रहेको बताए । कार्यक्रमको अन्त्यमा सागर कुशवाहाले धन्यवाद ज्ञापन गर्दै वार्षिकोत्सव सफल बनाउन सहयोग गर्ने अतिथि, सेवाग्राही, सदस्य तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे । चौथो वार्षिकोत्सवले संस्थाको हालसम्मको यात्राको समीक्षा गर्नुका साथै आगामी दिनमा अझ जिम्मेवार र सेवामुखी ढङ्गले अघि बढ्न प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस् !