जनकपुर (धनुषा), ६ कात्तिक । सार्वजनिक स्थानमा हातमा पेस्तोल जस्तो देखिने हातहतियार देखाएर अश्लील नृत्य गरेको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको आरोपमा धनुषामा एक युवती पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा नगराइन नगरपालिका–६ निवासी अन्दाजी २५ वर्षीया नाजिमा खातुन रहेकी छन् ।
प्रहरीका अनुसार खातुनले समाजमा हिंसा एवं त्रास फैलाउन उत्प्रेरित गर्ने गरि सार्वजनिक स्थानमा पेस्तोल जस्तो देखिने हातहतियार प्रदर्शन गरि नृत्य गरेको भिडियो बनाएर फेसबुकमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीको विज्ञप्तिअनुसार उनलाई २०८३ कात्तिक ४ गते राति करिब ११ः३० बजे गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाबाट पक्राउ गरिएको हो ।
सबैला नगरपालिका–४, पटेर्वामा आयोजित अर्केस्ट्रा कार्यक्रममा नृत्य गरेपछि पुनः नाच्नका लागि बरमझिया पुगेकी खातुनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । अर्केस्ट्रा कार्यक्रममा उनले ‘ममता’ नामबाट आफ्नो परिचय दिने गरेको पनि प्रहरीले उल्लेख गरेको छ । उक्त भिडियोमा देखिएका युवक भने फरार रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवकको खोजी तथा घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
पक्राउ परेकी खातुनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । साथै, सार्वजनिक स्थानमा हुने गतिविधि र सामाजिक सञ्जालमा पोस्ट गरिने सामग्रीमाथि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस् !