वीरगंज (पर्सा), ७ कात्तिक । जनमत पार्टी, पर्साले दशैं, दीपावली तथा छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । मीनाबजारस्थित होटल आदर्श इनमा आयोजित कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट पर्सा जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको छ ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षता तथा पार्टीका राष्ट्रिय उपाध्यक्ष माधव सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा, पार्टीका केन्द्रीय नेताहरू तथा जिल्लाभरिका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव तथा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यहरू रम्भा मिश्र, विनय यादव, अनिता रौनियार, मालती कुशवाहा र राजुराज गिरीको उपस्थिति थियो । त्यस्तै, जनमत पार्टी पर्साका जिल्ला उपाध्यक्षद्वय नागेन्द्र गुप्ता र जमिला खातुन, जिल्ला सचिव फुलेना कुशवाहा तथा सहसचिव सत्जुग साहसहित जिल्लाका विभिन्न वडा, पालिका र जिल्ला तहमा आबद्ध नेता–कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए ।
चाडपर्वको शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा सामाजिक सद्भाव, आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो । विभिन्न समुदायबीचको सम्बन्ध सुदृढ गर्दै चाडपर्वलाई सामाजिक एकता र सहअस्तित्वको साझा अवसरका रूपमा मनाउनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण पार्टीको दोस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित पर्साका नेताहरूको सम्मान रह्यो। नवनिर्वाचित नेताहरूलाई सम्मान गर्दै पार्टीभित्रको संगठनात्मक एकता बलियो बनाउने, नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध थप प्रगाढ बनाउने तथा आगामी राजनीतिक यात्रामा उत्साहका साथ अघि बढ्ने सन्देश दिइएको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले मधेशको अधिकार, पहिचान, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरणका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन राजनीतिक एकता र सहकार्य आवश्यक रहेको औँल्याएका थिए । मधेशका जनताको हकहितसँग जोडिएका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
जनमत पार्टी पर्साले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा पार्टीका नेता–कार्यकर्ताबीच आपसी संवाद, सद्भाव र सहकार्यको वातावरण थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस् !