वीरगंज (पर्सा), २० माघ । वीरहरूको भूमि, आर्थिक-औद्योगिक पहिचान र देशकै प्रमुख प्रवेशद्वारका रूपमा चिनिने वीरगंजले पछिल्लो समय साहित्य, संस्कृति र वैचारिक मन्थनको केन्द्रका रूपमा पनि आफ्नो अर्को परिचय उजागर गरिरहेको छ । यही पहिचानलाई व्यापक बनाउने उद्देश्यले आयोजना हुँदै आएको मधेश साहित्य महोत्सवको दोस्रो संस्करण बिहीबारदेखि शुरु भई शनिबार भोजपुरी चर्चित गायिका कल्पना पट्वारीको सांगीतिक प्रस्तुतीसँगै सम्पन्न भएको छ । तीन दिनसम्म वीरगंजस्थित मधेश विश्वविद्यालय परिसर साहित्य, संस्कृति, गाउँ, माटो र पहिचानमाथिको बहसले गुञ्जायमान बन्यो ।
समापन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले वीरगंज व्यवसायिक भूमि मात्रै नभई विमर्श र चिन्तनको पनि भूमि भएको उल्लेख गरे । उनका अनुसार यस्तो साहित्यिक मन्थनले नयाँ पुस्तामा सोच निर्माण गर्ने आधार तयार गर्छ । भोजपुरी र मिथिला संस्कृतिबीचको गहिरो सम्बन्धबारे बोल्दै उनले जनकपुर र वीरगंजको सांस्कृतिक स्वाद उस्तै रहेको बताए ।
उत्कर्ष नेपालद्वारा आयोजित महोत्सव ‘गाउँ मन्थन, सपनाको बेर्ना जोगाउन साहित्य’ भन्ने नारासहित सञ्चालन गरिएको थियो । आयोजक ऋतु राज पटेलका अनुसार शहर विस्तारसँगै गाउँका मुद्दा, भाषा र संस्कृति ओझेलमा पर्दै गएकाले त्यसविरुद्ध संवाद आवश्यक भएको हो । पहिलो दिन लोकबाजा सिंगाहा बजाएर उद्घाटन गरिएको कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले गाउँ बिना सहरको अस्तित्व नहुने उल्लेख गरे ।
पहिलो दिन ‘गाउँ स्मृति, मिथक र यथार्थ’ शीर्षकमा डा. भास्कर गौतमले गाउँको इतिहास, माटो, कृषि प्रणाली र रैथाने बिउको महत्वमाथि विचार राखे । उनले विकासको नाममा निर्वाहमुखी अर्थतन्त्र कमजोर पारिँदै किसान विस्थापित भइरहेको चिन्ता व्यक्त गरे । त्यसै दिन ‘गाउँका युवा पलायन, पोलिसी र विकल्प’, ‘गाउँ-लोकतन्त्र र सत्ता’ र ‘गाउँ-स्मृति र इतिहास’ शीर्षकका सत्रहरू सञ्चालन भए ।
दोस्रो दिन पानी संकट मुख्य बहसको विषय बन्यो । ‘गाउँ विकास भर्सेस विनाश’ सत्रमा मधेशमा देखिएको खानेपानी संकट, खडेरी, मनसुन ढिलाइ र भूमिगत पानीको अत्यधिक दोहनबारे छलफल भयो । दलित अधिकारकर्मी निला रामले पानी संकटले सीमान्तकृत समुदायलाई बढी असर पारेको बताइन् । जलाधारविद् मधुकर उपाध्यायले नीतिगत कमजोरी र गलत वैज्ञानिक बुझाइले समस्या जटिल बनेको धारणा राखे ।
शिक्षा, स्वास्थ्य र समानतामाथि भएको अर्को सत्रमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रञ्जन साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, बीमा प्राधिकरणका आर्या रावल लगायत सहभागी थिए । साँझ बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र लोपोन्मुख नेटुवा नाच प्रस्तुत गरियो ।
तेस्रो दिन गाउँ विषयक काव्यशाला आयोजना गरियो । विश्लेषक सिके लालले ‘गाउँ बन्दै सहर, सहर बन्दै गाउँ’ शीर्षकमा गाउँका मौलिक विशेषता हराउँदै गएको विश्लेषण गरे । भोजपुरी साहित्यमा गाउँ विषयमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताले छलफल गरे ।
महोत्सवको अवसरमा बाँसका सामग्री बुन्ने अर्जुन राउत, मिथिला चित्रकार ऋचा कर्ण र ढकिया-पथिया बुन्ने रामप्रिती चौधरीलाई सम्मान गरिएको थियो । साहित्यकार गणेशप्रसाद लाठकाका अनुसार २०४६/४७ पछि सुस्ताएको वीरगञ्जको साहित्यिक गतिविधिलाई यस महोत्सवले पुनर्जीवित गरेको छ । विश्लेषक चन्द्रकिशोरका अनुसार मधेशका मुद्दालाई साहित्य र संस्कृतिमार्फत उजागर गर्ने यो प्रयासले वीरगंजलाई फेरि वैचारिक केन्द्रका रूपमा स्थापित गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !