आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्सा क्षेत्र नम्बर–१ का लागि साधारण चुनाव मात्र होइन, जनमतको वास्तविक परीक्षा बन्ने संकेत देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, उज्यालो नेपाल पार्टी, जनमत पार्टी र राप्रपासहित थुप्रै दलका उम्मेदवार मैदानमा उत्रिनुले यस क्षेत्रको चुनावी माहोल असाधारण रूपमा प्रतिस्पर्धात्मक र रोचक बनेको छ ।
यो निर्वाचनलाई विशेष बनाउने प्रमुख कारण हो पुराना र नयाँ शक्तिहरूबीचको सीधा टकराव । नेकपा एमालेले पूर्व मन्त्री तथा निर्वतमान सांसद प्रदीप यादवलाई पुनः उम्मेदवार बनाएको छ । मनोनयन दर्ताको ठीक अघिल्लो दिन जसपा परित्याग गरी एमाले प्रवेश गरेका यादव यसअघि पनि एमाले-जसपा गठबन्धनबाट विजयी भएका थिए । उनको उम्मेदवारी स्थायित्व र अनुभवको प्रतीक हो कि अवसरवादको, त्यो निर्णय यसपटक मतदाताको हातमा पुगेको छ ।
नेपाली कांग्रेसले संविधान सभा सदस्य तथा उद्योगपति अनिल रुङटालाई मैदानमा उतारेको छ । २०७४ सालको निर्वाचनमा प्रदीप यादवसँग पराजित भएका रुङटा यसपटक बदला राजनीतिसँगै विश्वासको पुनः परीक्षणका लागि जनतामाझ फर्किएका छन् । कांग्रेसका लागि यो चुनाव केवल सिट जित्ने होइन, अघिल्लो हारको मनोवैज्ञानिक घाउ पुरिने अवसर पनि हो ।
यता प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले सिए अजय चौरसियालाई उम्मेदवार बनाउँदै वैकल्पिक वाम धार प्रस्तुत गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति तथा होटल व्यवसायी हरि पन्तलाई अघि सारेर ‘नयाँ राजनीतिको’ दाबी गरेको छ । जसपा नेपालबाट जिल्ला अध्यक्ष रामनरेश यादव, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह (पराग), जनमत पार्टीबाट ओमप्रकाश सर्राफ र राप्रपाबाट नन्दु श्रीवास्तव मैदानमा हुनु चुनावी बहसलाई झनै बहुआयामिक बनाउने तत्व बनेका छन् ।
यससँगै आम जनता पार्टी, श्रम सांस्कृतिक पार्टी र पिपुल फस्ट पार्टीका उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धालाई अझै बहुरंगी बनाएका छन् । अघिल्लो निर्वाचनमा गठबन्धनको बलमा प्रदीप यादव विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी निकटतम प्रतिस्पर्धी थिए । यसपटक भने प्रमुख दलहरू आ–आफ्नै झण्डा बोकेर मैदानमा उत्रिँदा मत विभाजनको सम्भावना उच्च छ, जसले जनादेशलाई झनै निर्णायक बनाइदिएको छ ।
पर्सा-१ को यो चुनाव केवल अनुहारको भिडन्त होइन, यो राजनीतिक चरित्र, दलगत विश्वसनीयता र मतदाताको चेतनास्तरको परीक्षा हो । मतदाता अब नाम, नारा र पार्टीको झण्डाभन्दा माथि उठेर उम्मेदवारको स्थिरता, विगतको भूमिका र भविष्यको दृष्टिकोण तौल्नुपर्ने मोडमा पुगेका छन् । किनकि बहुदलीय भीडमा सही विकल्प छान्नु नै यस निर्वाचनको सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी हो ।
पर्सा-१ मा देखिएको यो कडा प्रतिस्पर्धा लोकतन्त्रका लागि सकारात्मक संकेत हो । तर अन्ततः जित केवल मतपत्रमा होइन, जनताको भरोसामा लेखिनुपर्नेछ । यही भरोसाको फैसला फागुन २१ गते हुनेछ ।








प्रतिक्रिया दिनुहोस् !