वीरगंज (पर्सा), ३० पुस । नेपालको आर्थिक नगरीको रुपमा परिचित वीरगंज बजार पर्वको पूर्व सन्ध्यामा सुनसान छ । कुनैपनि पर्वको बखत जहिलेपनि अत्याधिक चहल पहल हुने गरेको वीरगंज बजार अहिले सनातन हिन्दू परम्पराअनुसार माघ पर्व र माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा बजारमा चहलपहल नबढेको कारण व्यापारीहरु मर्कामा परेका छन् ।
माघे सङ्क्रान्ति पर्व आत्मशुद्धि, दान–पुण्य, स्नान र नयाँ ऊर्जा आरम्भ गर्ने पवित्र अवसरका रूपमा मनाइन्छ । यस पर्वको आगमनसँगै सामान्यतया पूजासामग्री, लत्ताकपडा, खाद्यान्न, तिल, चाकु, घ्यू, तरुल तथा उपहार सामग्री किनमेल गर्न बजार क्षेत्रमा उल्लेख्य चहलपहल देखिनुपर्ने हो । तर यस वर्ष माघ पर्वको पूर्व सन्ध्यामा वीरगंजका मुख्य बजार क्षेत्रहरू अस्वाभाविक रूपमा सुनसान देखिएका छन् ।
धार्मिक र सांस्कृतिक चाडपर्वले जीवन्त बन्ने वीरगंजका घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया तथा प्रतिमा चोक आसपासका बजार क्षेत्रहरूमा अपेक्षित भीडभाड नदेखिँदा व्यापारिक गतिविधि सुस्त बनेको छ । चाडपर्वको अवसरमा व्यापार फस्टाउने आशामा पसलहरू सजाएर बसेका व्यापारीहरू ग्राहकको अभावका कारण निराश देखिन्छन् ।
भारतको सीमावर्ती शहर रक्सौलसँग प्रत्यक्ष रूपमा जोडिएको भौगोलिक अवस्थाका कारण अधिकांश उपभोक्ता किनमेलका लागि सीमापारि आकर्षित हुन थालेपछि वीरगंजका स्थानीय व्यापारीहरू गम्भीर संकटमा परेका छन् । स्थानीय व्यापारीहरूका अनुसार रक्सौलमा सामान सस्तो मूल्यमा उपलब्ध हुने, एउटै स्थानमा विविध विकल्प पाइने तथा कर र भन्सार प्रक्रियामा खासै कडाइ नहुँदा उपभोक्ताहरू सहज रूपमा भारततर्फ किनमेल गर्न रुचाउने गरेका छन् । यसको प्रत्यक्ष असर वीरगंजका पसलहरूमा देखिएको छ, जहाँ बिक्री उल्लेख्य रूपमा घटेको व्यापारीहरूको भनाइ छ ।
माघ पर्व केवल मौसमी परिवर्तनको संकेत मात्र नभई सामाजिक सद्भाव, स्थानीय उत्पादनको उपभोग र आर्थिक चक्रलाई गतिशील बनाउने धार्मिक अवसर पनि हो । तर यही पवित्र समयमा आफ्नै शहरका बजार सुनसान हुनु धार्मिक चेतनासँगै स्थानीय अर्थतन्त्रप्रति नागरिकको दायित्वबारे समेत प्रश्न उठ्ने अवस्था आएको छ ।
स्थानीय व्यापारीहरू स्थानीय उत्पादन, साना व्यवसाय र परम्परागत व्यापार संरचनाको संरक्षणका लागि दीर्घकालीन तथा प्रभावकारी नीति आवश्यक रहेको बताउँछन् । यदि समयमै ठोस पहल नगरिएमा वीरगंजको ऐतिहासिक व्यापारिक पहिचान र धार्मिक चाडपर्वसँग जोडिएको स्थानीय बजार संस्कृतिमा अझ गहिरो संकट आउने उनीहरूको चिन्ता छ ।
माघ पर्वजस्ता धार्मिक अवसर केवल पूजा अनुष्ठानमा सीमित नराखी स्थानीय उत्पादनको प्रयोग, आफ्नै बजारप्रतिको भरोसा र स्वदेशी व्यापार प्रवद्र्धनसँग जोड्न सकिएमा मात्र चाडपर्वको वास्तविक आध्यात्मिक र सामाजिक सार्थकता स्थापित हुने जानकारहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस् !