वीरगंज (पर्सा), २० पुस । धनुषा जिल्लाको कमला नगरपालिका–६ स्थित सखुवा मनार गाउँको मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहद्वारा तोडफोड गरी पवित्र कुरान जलाइएको घटनाको विरोधमा वीरगंजमा मुस्लिम समुदायले आइतबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । मस्जिदमाथि आक्रमण गरिएको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आक्रोशित मुस्लिम समुदायका युवाहरु वीरगंजमा विरोध प्रदर्शन गरेका हुन् । उक्त घटनाले धार्मिक आस्थामाथि गम्भीर आघात पुर्याएको भन्दै मुस्लिम समुदाय आक्रोशित बनेको हो ।
विरोधस्वरूप घण्टाघर, मुर्ली, छपकैया र इदगाह चोकलगायत वीरगंजका विभिन्न स्थानमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरूले टायर बाल्दै प्रदर्शन गर्नुका साथै ‘कुरान जलाउन पाउँदैन’, ‘अल्पसंख्यकमाथिको दमन बन्द गर’, ‘मस्जिद आक्रमणकर्तामाथि कारबाही गर’ र ‘प्रहरी र प्रशासन मुर्दावाद’ जस्ता चर्का नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा छपकैयास्थित इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपको स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको र घटनामा एक जना प्रहरी सामान्य घाइते भएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले जानकारी दिए । आक्रोशित प्रदर्शनकारीहरूले छपकैयाको श्रीराम हल नजिक रहेको प्रहरी बिटमा समेत तोडफोड गरेका छन् । तोडफोडबाट प्रहरी बिटभित्र रहेका फर्निचर, कागजात तथा अन्य सामग्रीमा क्षति पुगेको जनाइएको छ ।
छपकैया मदरसाका मौलाना असगर मदमीले उक्त घटनालाई धार्मिक दङ्गा भड्काउने नियतले गरिएको गम्भीर आपराधिक कार्यको संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेका छन् । उनले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरे । त्यसैगरी नेपाल मुस्लिम समाज सङ्घ पर्साका अध्यक्ष भएको दाबी गर्ने महबुब अली (शेरु) ले पनि दोषीमाथि कारबाही नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
यस घटनाले देशभर मुस्लिम समुदायमा व्यापक आक्रोश फैलिएको छ भने धार्मिक सद्भावमा खलल पुग्ने खतरा बढेको भन्दै प्रशासनले सुरक्षा सतर्कता कडा बनाएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको जनाइएको छ ।
सामाजिक सञ्जालमा द्वेष फैलाए कारबाही गरिने पर्सा प्रशासनको चेतावनी
मस्जिद आक्रमण घटनाको विरोधमा वीरगंजमा मुस्लिम समुदायले आइतबार गरेको उग्र विरोध प्रदर्शनपछि सामाजिक सद्भाव र शान्ति कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा चेतावनी जारी गरेको छ । सामाजिक सञ्जालमार्फत धार्मिक तथा सांस्कृतिक द्वेष फैलाउने, झुट्टा अफवाह फैलाउने वा कुनै समुदायको मानमर्दन गर्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण गरे कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा बसेको विशेष सुरक्षा समितिको बैठकपछि जारी गरिएको अपिलमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्लेटफर्ममा हुने गतिविधिमाथि सूक्ष्म र निरन्तर निगरानी भइरहेको उल्लेख गरिएको छ । प्रशासनले यस्ता संवेदनशील विषयलाई गम्भीरताका साथ लिँदै दोषीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
अपिलमा सामाजिक सद्भावमा खलल पुर्याउने, एक अर्काविरुद्ध सामाजिक, धार्मिक वा सांस्कृतिक द्वेष भावना सिर्जना गर्ने, राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुट्टा अफवाह फैलाएर कुनै धर्म वा समुदायको सामाजिक मानमर्दन गर्ने सबै प्रकारका गतिविधिलाई पूर्ण रूपमा निषेध गरिएको छ । यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै प्रशासनले सबै नागरिकलाई यस्ता गतिविधि नगर्न र नगराउन आग्रह गरेको छ ।
कारबाहीको कानुनी आधारका रूपमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत धर्मसम्बन्धी कसुरका प्रावधानहरू उल्लेख गरिएको छ । यसअनुसार कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मप्रति घृणा वा अपमान गर्ने नियतले पूजा प्रार्थना स्थल, पवित्र वस्तु, मसानघाट वा चिहानमा हानी नोक्सानी पुर्याएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ ।
त्यसैगरी लेखेर, बोलेर, चिन्हद्वारा वा अन्य कुनै माध्यम प्रयोग गरी कुनै समुदायको धार्मिक भावनामा चोट पुर्याउने कार्यलाई पनि कानुनले कसुर मानेको छ, जसमा दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । साथै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कम्प्युटर, इन्टरनेट वा सामाजिक सञ्जालमार्फत कानुनले निषेध गरेका सामग्री, सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका विषयवस्तु, घृणा वा द्वेष फैलाउने सामग्री, जातजाति तथा सम्प्रदायबीचको सम्बन्ध बिगार्ने सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको अपिलमार्फत यी कानुनी प्रावधानहरूको कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारिएको छ । प्रशासनको यस कदमले पर्सा जिल्लामा सामाजिक सद्भाव कायम राख्न तथा धार्मिक सांस्कृतिक सहिष्णुता प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय बासिन्दाहरूले पनि प्रशासनको अपिललाई स्वागत गर्दै सामाजिक सञ्जालको दुरुपयोगले समाजमा अनावश्यक तनाव र विभाजन निम्त्याउने भएकाले यस्ता गतिविधि नियन्त्रण आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई कानुनको पूर्ण पालना गर्दै आपसी सद्भाव कायम राख्न पुनः आग्रह गरेको छ र यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ । 















प्रतिक्रिया दिनुहोस् !