वीरगंज (पर्सा), १७ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मन्त्रिपरिषद् बैठकमार्फत मदरसा शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगंजमा यसको तीव्र प्रतिवाद भएको छ । निर्णयप्रति असन्तुष्टि जनाउँदै विश्व हिन्दू परिषद् नेपाल, वीरगंजले मुख्यमन्त्री यादवको पुत्ला दहन गर्दै बृहत् विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले मुख्यमन्त्रीले सर्वोच्च अदालतको आदेश विपरित मन्त्रिपरिषद् बैठक बसेर ६ बुँदे निर्णय गरेको आरोप लगाए । उनीहरूको अनुसार, उक्त निर्णयमार्फत शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरिएको थियो, जुन प्रक्रिया नै विवादास्पद रहेको दाबी गरिएको छ ।
यसअघि पनि लालबाबु राउत नेतृत्वको सरकारको कार्यकालमा मदरसा शिक्षा विधेयक ल्याउने प्रयास भएको थियो । त्यसबेला व्यापक विरोध तथा असन्तुष्टिका कारण विधेयक स्थगित भएको स्मरण गर्दै प्रदर्शनकारीहरूले ‘उत्तिकै विवादास्पद विधेयकलाई पुनः अघि सार्नु प्रदेशको संवेदनशीलता माथिको चुनौती’ भएको टिप्पणी गरे ।
साँझपख वीरगंजको घण्टाघर क्षेत्रबाट सुरु गरिएको मशाल जुलुसमा सहभागीहरूले शिक्षा प्रणालीलाई धार्मिक आधारमा विभाजन गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिए । उनीहरूको भनाइमा, यस्तो निर्णयले प्रदेशको सामाजिक सद्भाव, धार्मिक मिलनसारिता र बहुलवादी संरचनामाथि प्रत्यक्ष आघात पुर्याउन सक्छ ।
प्रदर्शनकारीहरूले मदरसा शिक्षा विधेयकलाई तत्काल खारेज गर्न माग गर्दै प्रदेश नेतृत्वले अदालतको आदेश र जनभावनालाई बेवास्ता गरेको आरोप दोहोर्याए । जुलुस र पुत्ला दहन कार्यक्रममा परिषद्को स्थानीय नेतृत्व, विभिन्न सामाजिक समूहका प्रतिनिधि, स्थानीयवासी र उल्लेख्य संख्यामा समर्थकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । 









प्रतिक्रिया दिनुहोस् !