वीरगंज (पर्सा), ९ भदौ । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएका छन् । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदाँ बस सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई पछाडिबाट तीब्र गतिमा आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्याएका थिए । बसमा ४३ जना सवार रहेकोमा अधिकांश घाइते भएका छन् भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यम जागरण अनलाइनले जनाएको छ । उसको अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ भने उनीहरू सबैको परिचय खुलिसकेको छ ।
अस्पतालमा उपचाररत घाइतेहरूमा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. ३ मुर्कीपलियाका गीता देवी, सीमाकुमारी, विश्वानाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्र कुमार, रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी, किशोरी साह, उषा देवीलगायत रहेका छन् ।
दुर्घटनामा परि सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो । बस र ट्रक दुवैका चालकहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । उनीहरू भारतको झारखण्ड स्थित शिवालय (बैद्यनाथ धाम) मा जल चढाउन जाँदै थिए । बारागढी गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालले नेपाली तीर्थयात्री दुर्घटनामा परेको खबर आएको बताए । मूर्की टोलका ४३ जना शनिबार तीर्थयात्रामा निस्किएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस् !