वीरगंज (पर्सा), ४ असार । वीरगंज कारागारमा कैदीबन्दीभन्दा थुनुवाको संख्या बढि रहेको छ । कारागारमा महिला र पुरुष कैदीहरू भन्दा बढि थुनुवाहरूको संख्या रहेको बन्दी सुधारगृह वीरगंजका प्रमुख विनय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार पुरुष बन्दीगृहमा हाल ६ सय ७१ जना कैदीबन्दी र ७ सय ३३ जना थुनुवा रहेका छन् भने महिला बन्दीगृहमा ३१ जना कैदीबन्दी र ३२ जना थुनुवा रहेका छन् । यसरी कुल एक हजार क्षमताको कारागारमा १४ सय भन्दा बढी कैदीबन्दी र थुनुवा रहेको उनको भनाई छ ।
बन्दीगृहको पुरानो संरचनामा १ हजार जनालाई समेट्ने क्षमता भएको बताएतापनि, हाल पुरुषतर्फ मात्रै ४ सय भन्दा बढि कैदीबन्दी र थुनुवा रहेका कारण बस्नलाई समस्या भएको प्रमुख श्रीवास्तवले बताए । त्यसमा पनि गर्मीको मौसममा यो समस्या झनै कष्टकर बनेको छ । कारागारको सातवटा ब्लकमा ४० वटा पंखा जडान गरिएको छ भने कैदीबन्दी र थुनुवाहरूले आफैं ल्याएको पंखाको संख्या २ सय १० भन्दा बढि रहेको छ ।
शौचालयको सन्दर्भमा, बन्दीगृहमा नयाँ र पुराना गरी ५१ वटा शौचालय रहेको र मौजुदा अवस्थामा यो पर्याप्त रहेको प्रमुख श्रीवास्तवले जानकारी दिए । महिला बन्दीगृहमा भने ४० जनाको क्षमतामा ६३ जना कैदीबन्दी र थुनुवा रहेका छन्, तर त्यहाँ खासै समस्या नरहेको उनको भनाई छ । वीरगंज कारागारमा लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दी र थुनुवाहरूको संख्या बढि रहेको प्रमुख श्रीवास्तवले बताए । महिला र पुरुष दुवै ब्लकमा लागूऔषध सम्बन्धी मुद्दामा सजाय भोग्नेहरूको संख्या बढि रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !