काठमाडौं, ५ वैशाख । सेवा अवधि बाँकी छँदै प्रहरीका उच्च अधिकारीहरु उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष रहे पनि त्यसअगावै उमेर हदका कारण केही उच्च प्रहरी अधिकारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी आज वैशाख ५ गते अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष रहेका कारण उनी ५ वैशाखबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
त्यसैगरी अर्का एआईजी मिरा चौधरी थारु पनि वैशाख ७ मा अनिवार्य अवकाशमा जाँदैछिन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् । वैशाख ७ मै उमेर हदका कारण गण्डकी प्रदेशका डीआईजी विकासराज खनाल पनि अनिवार्य अवकाशमा जाँदैछन् । वैशाख ३ गते सोमबार मात्रै डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका उमेशराज जोशी पनि उमेर हदकै कारण आगामी असार १९ मा अनिवार्य अवकाशमा जाँदैछन् । आउँदो जेठ १० मा डीआईजी सुरेन्द्र मैनाली पनि अनिवार्य अवकाशमा जाँदैछन् । असार २१ मा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेल ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
उमेर हदकै कारण असार ११ मा एसएसपी मनोज यादव पनि अनिवार्य अवकाशमा जाँदैछन् । एसएसपीको उमेर हद ५५ वर्ष छ । उमेर हदका कारण अवकाशमा नगएको भए उनीहरु सबै चैत २०८१ सम्म प्रहरी सेवामा रहने थिए । सेवा अवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनीहरुको आगामी चैतमा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पूरा हुन्छ । साभार : अनलाइनखबर
प्रतिक्रिया दिनुहोस् !