वीरगंज (पर्सा), २० चैत । पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहलाई जनप्रतिनिधिले कुटपिट गरेका छन् । सोही पालिकाका जनप्रतिनिधिले कुटपिट गरेपछि अधिृकत घाइते भएका छन् । गाउँपालिका कार्यालयमा नै प्रमुख प्रशासकीय अधिकृत साहलाई गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवारले अध्यक्षको नेम प्यलेटले हिर्काउनुको साथै कुटपिट समेत गरेको कर्मचारीहरुले वताएका छन् । जनप्रतिनिधिको कुटपिटबाट अधिकृत साहको छातीमा गम्भिर चोटपटक लागेको छ भने कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
कर्मचारीहरुका अनुसार मंगलबार दिउँसै कार्यालय समयमा नै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । सोही बखत उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी निजको कलर घाँटी समाती उनले लगाएको लुगा सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध मुक्का प्रहार गर्नुका साथै काठ सहितको फलामले बनाइएको नेम प्लेटबाट हिर्काएका थिए । प्रमुख प्रशासकीय अधिकृत साह धोबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र बारम्बार अभद्र व्यवहार गर्दै आएको कर्मचारीहरुको भनाई छ ।
अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएको दुव्र्यवहार तथा कुटपिट घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबारनै प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पीडित साहले मंगलबार नै दोषीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।
यता घटनाबारे जिल्लाका कर्मचारीहरुको एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसँग भेटेर घटनाबारे जानकारी समेत गराएको छ । दोषीमाथि कारवाही नभए जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज समेत बन्द गर्ने उनीहरुको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस् !