वीरगंज (पर्सा), ४ चैत । चुरे तथा वन जंगल संरक्षण अभियानले नेपालमा चीनकाे हस्तक्षेप बढेकाे भन्दै आइचबार वीरगंजमा विराेध प्रदर्शन गरेको छ । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईन मानिने सिरहा र सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा चुरे पहाडको विनाश गर्दै आईरहेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो ।
‘चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, राष्ट्रिय स्वधिनता कायम गर’ लगायतका नारा लगाउँदै अभियानमा आबद्धहरुले प्रदर्शन गरेका हुन् । वीरगंजकाे घण्टाघरबाट सुरु भएको विराेध जुलुश नगर परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बाधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्ने कार्य कदापी सह्य नहुने बताए । चिनिया ऋणमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फसाउँदै आएको उनको आरोप थियाे ।
केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौ) का स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरेको थियो । त्ही विषयमा जिल्ला अदालत सिराहाले मुद्दापन चलाइसकेको छ । तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध सदैव अभियान जारी राख्ने र मधेसलाई मरुभुमिकरण हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।
अभियानका अभियान्ता चन्द्र प्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको भन्दै आक्रोश पोखे । चिनियाँ कम्पनीले देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको उनको भनाई छ । नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग लगायतका क्षेत्रको विकासको नाममा चुरे दोहन भइरहेको भन्दै उनले आपत्ती जनाए ।
कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !